बार्सिलोना प्रशिक्षक बर्खास्त, क्विक सेटिनलाई जिम्मेवारी


 


बार्सिलोना, पुस २९
स्पेनिस महारथी बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गरेको छ ।
उनको बर्खास्तीसँगै टोलीले क्विक सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । बार्सिलोना गत साता मात्र स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि भाल्भेर्डे बर्खास्तीमा पर्ने सम्भावना बढेको थियो ।

‘बार्सिलोना र सेटिन बीच सन् २०२२ को जुन ३० सम्मका लागि बार्सिलोनाको पहिलो टोलीलाई प्रशिक्षण दिने सहमति भएको छ ,’ बार्सिलोनाले बेवसाइटमार्फत विज्ञप्ती जारी गरेको छ । ६१ वर्षे सेटिनले आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन् । २००१ देखि उनी प्रशिक्षणमा सामेल भएका थिए ।

उनले रेसिङ साटान्डारलाई शीर्षस् स्थानमा उकालेका थिए । त्यसपछि पोली इजिडो, इक्वोटोरियल गुइने र त्यसपछि लोर्गोनेसको टोली सम्हालेका थिए । त्यसपछि उनको यात्रा लुगोमा रह्यो । जहाँ उनी ६ वर्ष रहे । टोलीलाई स्पेनिस दोस्रो श्रेणीको लिगमा स्थापित गराउन सफल रहे । त्यसपछि २०१५ मा उनी लास पालमासमा रहे ।

त्यसपछि २०१७ बाट मे २०१९ सम्म बेटिस सम्हालेका थिए । उनले आफ्नो पहिलो सिजनमै टोलीलाई युरोपा लिगमा छनोट गराए । त्यहि सिजन बेटिस कोपा डेल रेको सेमिफाइनल पुग्यो । तीन वर्षको सम्झौता हुदा हुँदै बोर्डसँगको सम्बन्ध बिग्रिएपछि उनले क्लब छोड्नु परेको थियो ।

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्