उपसभामुख पद कसलाई दिने ? नेकपाभित्रै मतभेद


 



काठमाडौं, माघ ११
सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुने निश्चित भइसकेपछि अब उपसभामुख कुन दललाई दिने भन्नेबारे नेकपामा छलफल सुरु भएको छ । तर, सभामुखबारे नेकपाका नेताहरुबीच भने मतभेद देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड केपी शर्मा ओली राष्ट्रिय जनता पार्टीलाई उपसभामुखमा सघाउने पक्षमा छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली काँग्रेसलाई उपसभामुख दिने पक्षमा उभिएका छन् ।

प्रधानमन्त्री ओली राजपालाई सरकारमा ल्याउने गरी प्याकेजमा सहमति बनाउने पक्षमा छन् । राजापालाई दुई मन्त्रालय, उपसभामुख, प्रदेश २ सरकारको नेतृत्व दिएर सरकारमा ल्याउन ओलीले रणनीति बनाएका छन् ।

राजपामा सरकारमा जानेबारे मतभेद
प्रधानमन्त्री ओलीले राजपालाई सरकारमा ल्याउन रणनीति बनाउन लागेपनि राजपा भित्रै भने कुरा मिल्न सकेको छैन । राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच गठबन्धन भएपछि प्रधामन्त्री ओलीले राजपालाई सरकारमा ल्याएर पुनः दुई तिहाईको सरकार बनाउने तयारी थालेका हुन् ।

तर, राजपाका केही नेता सरकारमा जाने पक्षमा छन् भने केही नजाने पक्षमा उभिएका छन् । अध्यक्षमण्डलका नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सरकारमा जाने पक्षमा छन् । वर्तमान संयोजक महेन्द्र राय यादव र महन्थ ठाकुर सरकारमा गइहाल्न नहुने पक्षमा छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार राजपा सरकारमा आउने सम्भावना बढेको छ । त्यसका लागि उनले आन्तरिक तयारी लगभग पूरा गरिसकेका छन् । राजपा सरकारमा आएमा मधेश केन्द्रित दलहरुबीच गठबन्धन तोडिने सम्भावना देखिएको छ ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्