भारतमा अभिनेत्रीले गरिन् आत्महत्या


 


एजेन्सी, माघ ११
भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनले घरमा सुसाइड नोट पनि प्राप्त भएको छ । सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन् ।

सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन्, जो मुख्य पात्रको बहिनीको भूमिका हो । प्रहरी इन्स्पेक्टर सन्दीप कदमले सेजल शर्माको घरमा सुसाइड नोट प्राप्त भएको र त्यसमा नीजि कारणले आत्महत्या गर्नुपरेको लेखिएको बताए ।

सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन् । भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् ।

यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन् । उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन् । राजस्थानको उदयपुरमा स्थायी घर भएकी सेजल शर्माको मृत्युमा विभिन्न टीभी कालाकारले शोक प्रकट गरेका छन् । यस अघि केही हप्ता अघि टीभी अभिनेता कुशल पन्जाबीले पनि आत्महत्या गरेका थिए ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्