प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी


 


काठमाडौं, फागुन ७
प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ ।

प्रधानमन्त्रीको मुटु बलियो

उपचारमा संलग्न डा. अरुण सायमीले भने, ‘मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेरिन्छ । त्यसैले उहाँ अस्पताल आउनुभएको हो । एन्जिओग्राफी गरेर मुटुका नसाहरूको अवस्था हेरियो । सबै सामान्य रहेछ । प्रधानमन्त्रीको मुटु साँच्चै बलियो रहेछ।’

चिकित्सकहरूले एन्जिओग्राफी रिपोर्टबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् । ‘तपाईंको मुटु त निकै बलियो रहेछ भनेर हामीले उहाँलाई सुनायौँ,’ डा. सायमीले भने ।

चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपणका क्रममा संक्रमण, हृदयाघात र मस्तिष्कघात हुने जोखिम हुन्छ । यस्ता जोखिम निम्तिन नदिन प्रत्यारोपणअघि एन्जिओग्राफी गरेर मुटुको अवस्था हेरिन्छ । एन्जिओग्राफी गर्नु प्रत्यारोपणको अन्तिम तयारी भएको मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए ।

‘सबै स्वास्थ्य जाँच गरेर अन्तिममा एन्जिओग्राफी गरिन्छ । एन्जिओग्राफी गरे मुटुको अवस्था हेरेपछि मात्रै प्रत्यारोपणमा प्रवेश गरिन्छ,’ डा. काफ्लेले भने, ‘संक्रमण, हृदयाघात र मस्तिष्कघातको जोखिम हुने भएकाले मुटु नहेरी प्रत्यारोपणको निर्णय लिन सकिँदैन । एन्जिओग्राफीको नतिजा राम्रो आए मिर्गौला प्रत्यारोपण गर्न ठीक भएको बुझिन्छ ।’

प्रधानमन्त्री ओलीको १२ वर्षअघि ०६४ मा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, मिर्गौलाले राम्रोसँग काम गर्न नसकेपछि गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको थियो । शरीरले अर्काको मिर्गौला भन्ने पहिचान गरेपछि एन्टिबडिज बनाउन थाल्छ र शरीरबाट एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्ने गरिन्छ ।

प्लाज्मा फेरेसिसले काम नगरेपछि डायलाइसिस या प्रत्यारोपण गरिन्छ । प्रधानमन्त्रीको मिर्गौलाको गत कात्तिकदेखि नियमित डायलाइसिस हुँदै आएको छ । तर, डायलाइसिसभन्दा दोस्रोपटक प्रत्यारोपण गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेकाले चिकित्सकहरू त्यसकै तयारीमा जुट्दै आएका छन् । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्