कोरोनाभाइरसबाट इरानका सर्वोच्च नेताका सल्लाहकारको मृत्यु


 


काठमाडौं, फागुन २०
कोरोनाभाइरसको संक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए ।

यसअघि, देशका प्रमुख धर्मगुरुमध्ये एक रहेका हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो । राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।

गत हप्तादेखि इरानमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेको हो । सोमबारसम्म यसबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने देशमा यसबाट १५ सयभन्दा बढी संक्रमित बनेका छन् । यसबीच २९१ जना सफल उपचारपछि घर फर्किएका छन् ।

पाकिस्तान, क्यानाडा, लेबनान, अफगानिस्तान, कुवेत, बहराइन, इराक, ओमान, कतार र युएईमा इरान यात्रा गरेर फर्किएकामा कोरोनाभाइरसको संक्रमण देखापरेको थियो । मध्यपूर्वमा इरानमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै, भाइरसको उत्पत्ति भएको चीनबाहिर इरानमा नै सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्