इदको प्रार्थनामा नै आक्रमण आठ जना घाइते


 


idalad

इस्लामावाद,भदौ २८  पाकिस्तानको दक्षिणी सहर शिखरपुरमा मुस्लिम समुदायको महान चाड इद अल अदाको अवसरमा प्रार्थना गरिरहेका बेला आत्मघाती बम आक्रमण भएको छ ।

मङ्गलबार बिहान सबेरै भएको यस हमलामा परी आठ जना घाइते भएका स्थानीय उर्दु टिभी च्यानल समाले जनाएको छ ।

घाइतेमध्ये चार प्रहरी अधिकारी रहेका छन् भने एक जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

स्थानीय प्रहरीका उच्च अधिकारी उमार तुफैलले एफपीलाई भन्नुभयो, “हाम्रा चार सुरक्षा अधिकारी घाइते भएकामा एकको अवस्था गम्भीर छ ।”

आत्मघाती हमला गराउने क्रममा घाइते भएका एक हमलाकारीलाई पनि चिकित्सकले बचाउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रार्थनाका लागि जम्मा भएका व्रतालुबीच आक्रमणकारी पनि प्रार्थनाकर्ताको रुपमा आएका थिए ।

ती आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी सफल भएको सिन्ध प्रान्तका प्रहरी प्रमुख ए.डी.खबाजाले बताउनुभएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्