भारतद्वारा वेष्ट इन्डिज लेजेन्ड्स पराजित


 


काठमाडौं, फागुन २५
वीरेन्द्र सहवागको शानदार अर्धशतकीय पारीको मद्दतमा भारतीय लेजेन्ड्स टीमले वेष्ट इन्डिज लेजेन्ड्सलाई हराउँदै रोड सेफ्टी वर्ल्ड सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार राति मुम्बईमा भएको सिरिजको पहिलो खेलमा भारतले वेष्ट इन्डिज लेजेन्ड्सलाई ७ विकेटले हरायो ।

वेष्ट इन्डिजले दिएको १ सय ५१ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि ओपनर सहवागले ५७ बलमा ११ चौका हिर्काउँदै अविजित ७४ रन बनाए । यस्तै कप्तान सचिन तेन्दुलकरले ३६, मोहम्मद कैफले १४ र युवराज सिंहले अविजित १० रनको योगदान दिए ।

बलिङमा वेष्ट इन्डिज लेजेन्ड्स टीमका कार्ल हूपरले २ र सुलिमान बेनले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो ।

उसका लागि शिवनारायण चन्द्रपलले ४१ बलमा ६ चौका र २ छक्का हिर्काउँदै ६१ रन बनाए । यस्तै डारेन गंगाले ३२, कप्तान ब्रायन लाराले १७, डन्जा हयात १२ र टिनो बेस्टले ११ रनको योगदान दिए । बाँकी खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा भारतीय लेजेन्ड्स टिमका जाहीर खान, मुनाफ पटेल र प्रज्ञान ओझाले २–२ विकेट लिए । यो सिरिजमा भारत, वेष्ट इन्डिजसहित अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका पूर्व क्रिकेटरहरुको टिम छ । सडक सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको सिरिजमा लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्