काेराेना भाइरसलाई ‘वुहान भाइरस’!


 


एजेन्सी, फागुन २७
कोविड–१९ (कोराना)लाई वुहान भाइरस भन्ने अभिव्यक्ति अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले दिएका छन्। उक्त अभिव्यक्तिकाे चीनले भने कडा रुपमा आपत्ति जनाएको छ । विदेशमन्त्री पोम्पेओको उक्त अभिव्यक्तिले चीनको अपमान गरेको र घृणित अभिव्यक्ति भन्दै चीनले कडा शब्दमा आपत्ति जनाएको हो ।

सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ सुवाङले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नाम कोविड–१९ दिएको बताए । प्रवक्ता सुवाङले भने, ‘केही अमेरिकी नेताले विज्ञान र विश्व स्वास्थ्य संगठनको निर्णयप्रति आँखा चिम्लेका छन् र कोविड–१९ को आडमा चीन र वुहानलाई कलंकित पार्न उत्सुक देखिएका छन् । हामी यस्तो अपमानजनक व्यवहारको निन्दा गर्दछौं ।’

अमेरिकी विदेशमन्त्री पोम्पओले केही दिनअघि एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा कोरोना भाइरसलाई पटक–पटक ‘वुहान भाइरस’ भनेर व्यङ्ग्य गरेका थिए । चीनको बुहानबाट डिसेम्बर महिनाबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । उनले चीनमाथि यस भाइरसको बारेमा विश्वका देशहरुलाई दिने सूचना लुकाएको आरोप लगाउँदै त्यसले अमेरिकालाई समेत समस्यामा पारेको समेत बताएका थिए । यद्यपि, विदेशमन्त्री पोम्पेओले चीनले भाइरसलाई विश्वभर फैलिनबाट रोक्नका लागि गरेको प्रयासबाट खुसी भएको प्रतिक्रिया दिएका थिए । चीनको वुहानबाट फैलिएको भनिएको उक्त भाइरस कहाँबाट पैलियो भन्नेमा अझै पनि अनुसन्धानकै विषय रहेको चीनले प्रतिक्रिया दिँदै आएको छ ।

गत मार्च ५ मा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यो भाइरस कहाँबाट फैलियो भनेर अझै पुष्टि हुन नसकेको प्रतिक्रिया दिएका थिए । उनका अनुसार यो विषयमा चीनले अझै गहिरो गरी अध्ययन गरिरहेको छ । यद्यपि, विश्वभर भने वुहानबाटै यो भाइरसको संक्रमण सुरु भएको समाचार प्रसारण भैरहेका छन् । यो भाइरसको संक्रमणबाट ३ हजार ८ सयभन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ भने १ लाखभन्दा बढी व्यक्ति विश्वभर संक्रमित भएका छन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्