दिल्लीबाट आउँदाआउँदै काठमाडौंमा भारतीय राजदूत दौडधुप



काठमाडौं, फागुन २८

भारतमा अमेरिकी राजदूतको चर्चा भएजस्तै नेपालमा भारतीय राजदूतको व्यक्तित्व र उनको भूमिका चर्चामा रहँदै आएको छ । नेपालमा अपवादबाहेक प्रायः भारतीय राजदूत विवादको घेरामा तानिने गरेका छन् । कहिले व्यक्तिगत स्वभावले त कहिले परिस्थितिको उपजका कारण भारतीय राजदूत विवादमा तानिने गरेका छन् ।

विवादरहित भूमिका निर्वाह गरेर २४औँ राजदूत मञ्जीवसिंह पुरी फर्केपछि २५औँ राजदूतका रूपमा १८ फागुनमा काठमाडौं उत्रेका विनयमोहन क्वात्राले एक सातायता सक्रियता बढाएका छन् । २२ फागुनमा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकै दिन उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरे । एकैदिन उनले गरेका भेटवार्तालाई क्वात्राको सक्रियता बढेको अर्थमा बुझियो ।

भोलिपल्ट प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र ऊर्जामन्त्री वर्षमान पुनसँग भेट गरेका क्वात्राले मंगलबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । यही साता भारतका ऊर्जा सचिव सञ्जीव रञ्जन सहाईको काठमाडौंमा हुने ऊर्जा सचिवस्तरीय बैठकका सन्दर्भमा क्वात्राले पुनसहित ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफल गरेका हुन् ।

नेपालमा २५औँ भारतीय राजदूतको सक्रियता : २२ फागुनमा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकै दिन उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरे । २३ फागुनमा प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र ऊर्जामन्त्री वर्षमान पुनसँग भेट गरेका क्वात्राले २७ फागुनमा सभामुख अग्नि सापकोटालाई भेटे ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका कारण अस्पतालमा रहेकाले राजदूत क्वात्राको भेट हुन सकेको छैन । विगतमा सार्क सचिवालयमा बस्दा काठमाडौं बुझेका क्वात्राले काठमाडौं आउन धेरै समय प्रतिक्षा गर्नुपरेन । राजदूत जयन्त प्रसाद कार्यभार सम्हाल्न औपचारिक रूपमा आउनुभन्दा एक महिनाअघि नै आएर विस्तृत अध्ययन गरेको जानकार एक कूटनीतिज्ञले भने, क्वात्राले दिल्लीमा पूर्वराजदूतहरूसँग अन्तर्क्रिया गरे, साउथ ब्लकको नेपाल भुटान डिभिजनबाट ब्रिफिङ लिए । अनि, राष्ट्रपति, विदेशमन्त्री, विदेश राज्यमन्त्री, विदेश सचिवसँग भेटवार्ता गरेर काठमाडौं आए ।

राजदूत क्वात्राका कार्यसूची
राजदूत क्वात्राले राष्ट्रपति भण्डारीदेखि सभामुख सापकोटासम्म भएका भेटमा नेपाल र भारतबीच थाती रहेका मुद्दा अघि बढाउन प्रयत्न गर्ने बताएका छन् । अहिले थाती रहेका मुद्दा भनेको नेपाल–भारत इपिजी प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न र कालापानी तथा सुस्ताका विषयमा दुई देशका परराष्ट्र सचिवस्तरीय बैठक बस्न प्रयास गर्नुपर्ने जानकारहरूको भनाइ छ ।

झन्डै तीन दशकदेखि अघि नबढेको पञ्चेश्वर परियोजनाको डिपिआरमा टुंग्याउनुपर्ने विषय पनि थाती छ । यी विषयमा आवाज उठिरहेका वेला राजदूत क्वात्राले प्रयास गर्ने बताएका छन् । नेपालका लागि पूर्वराजदूत रणजित रायको दृष्टिकोणमा योबाहेक नेपालमा चीनको बढ्दो प्रभाव न्यूनीकरण पनि भारतीय राजदूतको कार्यभार हो । पछिल्लोपटक १२२ जना चिनियाँ नागरिकलाई नेपाल र चीनका प्रहरीको संयुक्त अप्रेसनबाट पक्राउ गरेर चीन डिपोर्ट गरिएको घटनालाई उदाहरण दिएका रायले नयाँ पत्रिकासँग भने, ‘विगतमा जसरी चीनले नेपाललाई भारतसँग सम्बन्ध सुधार्न सल्लाह दिँदैन, चीन आफैँ यहाँ सक्रिय छ । भारतीय सीमावर्ती क्षेत्र मधेसमा पनि चीनको प्रभाव बढिरहेको छ । यसमा पनि राजदूतले काम गर्नुपर्नेछ ।’

रायले राजदूत क्वात्रालाई दिएको सल्लाह थियो– ‘भारतले हमेसा नेपालका लागि डेलिभरी मुड’ कायम राख्नुपर्छ । नेपालले मागेको पारबहन रुट दिनुपर्छ । तेस्रो देशको व्यापारका लागि पनि नेपालले मागेको सुविधा भारतले दिनुपर्छ । उनले थप सल्लाह दिएका छन्, ‘नेपालको मागलाई नो नभनौँ । इपिजी प्रतिवेदन बुझ्ने वातावरण बनाऊँ, कालापानीका विषयमा विदेश सचिवस्तरीय वार्ताका लागि पहल गरौँ । जलविद्युत्मा लगानीको प्रयास गरौँ । क्वात्रालाई पूर्वराजदूत मञ्जीवसिंह पुरीले पनि यही प्रकृतिको सल्लाह दिएका थिए । उनको थप सुझाब थियो– नेपालमा सार्वजनिक रूपमा नबोलौँ । विवादमा नपरौँ ।

तत्कालीन राजदूत राकेश सुदलाई उदाहरण दिएर कतिपय कूटनीतिज्ञले नेपालमा लो प्रोफाइल अपनाउन भारतीय राजदूतलाई सुझाब दिएका थिए । तत्कालीन राजदूत सुदले ओहोदाको प्रमाणपत्र बुझाउनुअघि नै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटेर विवादमा आएका थिए । तत्कालीन सरकारले प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निर्णयको विरोधमा रहेका सुदले तत्कालीन माओवादीप्रति कडा आलोचना गर्दै आएका थिए । दिल्ली फर्केपछि सुदले एउटा कूटनीतिक जमघटमा भनेका थिए– त्यसवेला मैले मेरो हितमा होइन, भारतको हितमा काम गरेँ । मेरो छवि मुख्य कुरा होइन, मैले भारतको आधारभूत हितको सम्बोधन गरेँ ।

मोदीका विश्वासपात्र क्वात्रा
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायका अनुसार क्वात्रा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत रूपमा निकट पहुँच भएका राजदूत हुन् । त्यसो त विदेशमन्त्री डा. एस जयशंकर पनि विदेश सेवाकै पृष्ठभूमि र मोदीसँग विशेष सम्बन्ध भएका व्यक्ति छन् । नेपालको सीमावर्ती उत्तराखण्डका बासिन्दा अजित डोभाल राष्ट्रिय सुरक्षा सल्लाहकार छन् भने विदेश सचिव हर्षबर्धन शृंगला नेपालीभाषी आमाका छोरा हुन् । नेपाल बुझेका प्रभावशाली व्यक्तिहरू प्रधानमन्त्री मोदीको टिममा रहेको अवस्थामा उनकै विश्वास पात्र क्वात्रा नेपालमा छन् ।

०७२ मा क्वात्रा प्रधानमन्त्री मोदीको सचिवालयमा कार्यरत थिए । उपाध्यायले नयाँ पत्रिकासँग भने– त्यसवेला प्रधानमन्त्री कार्यालयमा रहेर मोदीको कूटनीतिक भाषण लेख्नेदेखि कूटनीतिक भेटवार्ता व्यवस्थापनको जिम्मा क्वात्राले पाएका थिए । क्वात्राले चाहेको वेला मोदीलाई भेटेर आफ्नो धारणा राख्न सक्ने हैसियत छ । प्रधानमन्त्री मोदीलाई बुझाउन सक्ने विश्वासका आधारमा राजदूत क्वात्राले शीर्ष नेताहरूसँगको भेटमा थाती रहेका मुद्दा अघि बढाउन प्रयास गर्ने आश्वासन दिएको हुन सक्ने राजदूत उपाध्यायको तर्क छ ।

भारतीय प्रधानमन्त्री मोदीले आफूलाई भनेको सम्झिँदै उपाध्यायले भने– नेपाल वा विदेश मामिलाका सम्बन्धमा विदेशमन्त्री, विदेशसचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार र सम्बन्धित राजदूतका कुरा मात्रै आधिकारिक हुन्छन् । बाँकी मानिसहरूको कुरा सुन्नू, तर आधिकारिक नमान्नू । प्रभावशाली हैसियतमा रहेका हुनाले क्वात्राको भनाइलाई अर्थपूर्ण र गम्भीर रूपमा लिनुपर्ने उपाध्यायको सुझाब छ ।

श्याम शरणपछिका राजदूत रणजित राय, मञ्जीवसिंह पुरी, शिवशंकर मुखर्जी, राकेश सुद, जयन्त प्रसादको प्रधानमन्त्रीसँग प्रत्यक्ष पहुँच बनाउने हैसियत थिएन । विदेश सचिवसमेत भएका पूर्वराजदूत श्याम शरणको प्रत्यक्ष पहुँच प्रधानमन्त्री डा. मनमोहन सिंहसँग थियो । विदेश सचिव भएका वेला श्याम शरणले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालको उत्कर्षमा प्रधानमन्त्री सिंहको विश्वासका आधारमा भनेका थिए– भारत संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र (ट्विन पिलर पोलिसी) होइन, नेपालमा पूर्ण प्रजातन्त्रको पक्षमा छ । जानकारहरूको भनाइमा प्रधानमन्त्री सिंह विदेश भ्रमणमा रहेका वेला श्याम शरणले नेपालका बारेमा भारतको विदेशनीति परिवर्तनको घोषणा गरेका थिए ।

भारतीय राजदूत किन चर्चामा ?
प्राचीनकालदेखि सम्बन्ध रहँदै आए पनि भारतसँग नेपालको कूटनीतिक सम्बन्ध भारत अंग्रेजबाट स्वतन्त्र भएपछि सन् १९४७ जुन १३ मा स्थापित भएको थियो । भारत स्वतन्त्र हुनुअघि ब्रिटिस शासनको प्रभाव नेपालको तत्कालीन राणा शासनमा थियो । भारत स्वतन्त्र भएयता जनस्तरको सम्बन्धले मात्र निरन्तरता पाएन, नेपालको राजनीतिमा भारतको प्रभाव पनि निरन्तर रह्यो ।

नेपालका पछिल्ला राजनीतिक परिवर्तनमा भारतको भूमिका विरासतकै रूपमा रहँदै आएको छ । आर्थिक रूपमा पनि नेपाल भारतसँग निर्भर छ । तीनतिरबाट घेरिएको नेपालले अन्तर्राष्ट्रिय रूपमा भारतवेष्ठित छवि बनाएको छ । परम्परागत प्रभावको निरन्तरताका कारण नेपालमा भारतको नीति–नियम मात्र नभएर राजदूत पनि चर्चामा रहने गरेका छन् । भारतका लागि नेपाली पूर्वराजदूत लोकराज बराल भन्छन्– ठूलो देश र सानो देशको सम्बन्ध सञ्चालन हेर्दा यसलाई सामान्य रूपमा नै लिनुपर्छ ।

नेपालमा भारतीय राजदूत चर्चामा रहेजस्तै भारतमा पनि अमेरिकी राजदूतको चर्चा हुने गर्छ । ०४६ पछि नेपालले उच्च राजनीतिक तहबाट भारतसँग सम्बन्ध सञ्चालन गर्दै आएका छन् । नेपालमा भारत मामिला प्रधानमन्त्रीको तहबाट सञ्चालन हुने गरेको छ । तर, भारतले स्थापित प्रणालीबाट काम गर्ने हुनाले नेपालमा भारतीय राजदूतको सक्रियता आमचर्चा र चासोका रूपमा हुने बरालको भनाइ छ । जस्तो कि, दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेट्न एक वर्ष कुर्नुपर्‍यो, भने आचार्यले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकाय नायडू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्न सकेका छैनन् ।

विदेश सचिव हर्षबद्र्धन शृंगलासँग आचार्यले दुईपटक भेटवार्ता गरे । भारतीय राजदूत क्वात्राले काठमाडौंमा परराष्ट्र सचिव शंकरदास बैरागीसँग शिष्टाचार वार्ता गरेका छैनन् । नेपाल र भारतका परियोजनाहरू अनुगमन गर्ने संयुक्त संयन्त्रमा भारतीय राजदूत र परराष्ट्र सचिवलाई समकक्षी हैसियतमा राखिएको छ ।

अवसरको सदुपयोग गर्न प्याकेजमा डिल गर्नुपर्छ
दीपकुमार उपाध्याय,पूर्वराजदूत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र र उहाँसँग प्रत्यक्ष पहुँच स्थापित भएका विनयमोहन क्वात्रा राजदूत भएर नेपाल आएका छन् । नेपालले यो अवसरको सदुपयोग गर्न प्याकेजमा डिल गर्नुपर्छ । सीमा समस्या, कनेक्टिभिटी, ऊर्जा उत्पादन र व्यापारमा हामीले गर्न खोजेको के हो, भन्नुपर्छ । भारतले पनि नेपालमा चाहेको के हो अब भन्नुपर्छ । नेपालमा भारतीय राजदूत सक्रिय हुन्छन् ।

उनीहरू सिस्टममा काम गर्छन् । भारतमा प्रधानमन्त्री मोदी नेपालको सम्बन्धमा आफैँ चासो राख्छन् । उनले मसँगको भेटमा स्पष्ट रूपमा बताएका छन् कि नेपालका बारेमा प्रधानमन्त्री, विदेशमन्त्री, विदेश सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार र राजदूतको कुरालाई आधिकारिक मान्नू, बाँकीले भनेका कुरा सुन्नू, तर त्यसलाई आधिकारिक रूपमा नलिनू । स्थापित सिस्टमका, तर प्रभावशाली हैसियतका राजदूत आएको अवसरलाई हामीले थाती रहेका मुद्दा समाधान गर्दै थप साझेदारीका लागि उपयोग गर्नुपर्छ ।

भारतीय राजदूतहरू सिस्टममा काम गर्छन्
लोकराज बराल,पूर्वराजदूत
शक्ति राष्ट्रका राजदूतहरूको हैसियत बेग्लै हुँदोरहेछ । भारतीय राजदूत राकेश सुद काठमाडौं आउँदा ओहोदाको प्रमाणपत्र नबुझी तत्कालीन प्रधानमन्त्री गिरिजाबाबुसँग भेटवार्ता गरेका थिए । भारतीय राजदूतहरू सिस्टममा काम गर्छन् । उनीहरूको बोस भनेको विदेश सचिव हो । सम्बन्धित डिभिजन (डेस्क) पनि महत्वपूर्ण हुन्छ । परराष्ट्रमन्त्री, सुरक्षा सल्लाहकार, मन्त्रीहरू एउटा हैसियतमा काम गर्छन् । हामीकहाँ समस्या छ, सबै कुरा माथिमाथि डिल हुन्छ ।

२०४६ पछि भारत मामिलामा प्रधानमन्त्रीहरूले नै डिल गर्न थाले । मन्त्रीहरूकै भूमिका कमजोर देखियो । तर भारत, चीन, अमेरिकाका राजदूतले डिल गर्छन् । हामीले व्यक्तिगत रूपमा चाहेर र परिस्थितिवश पहुँच निर्माण गर्छौँ  । प्राज्ञिक रूपमा सम्बन्ध हुँदाहुँदै पनि उच्चस्तरमा पहुँच स्थापित गर्न अप्ठ्यारो हुन्छ । हामीले सिस्टम नबनाएको हुनाले र उच्चस्तरबाट सबै कुरा डिल गर्ने भएकाले हाम्रा राजदूतलाई दिल्लीमा काम गर्न अप्ठ्यारो भएको हो । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News