सिरिया युद्धविराम, युद्धका घटनामा उल्लेखनीय कमी


 


दमास्कस (एजेन्सी) भदौ ३१

अमेरिका र रुसको पहलमा सोमबार रातिदेखि लागू अस्थायी युद्धविरामका कारण सिरियामा युद्धका घटनामा उल्लेखनीय कमी आएको छ । सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफान डे मिस्टुराले लडाइँका घटनामा उल्लेखनीय कमी आएको स्पष्ट पारेका छन्् । उनले हिंसात्मक घटना भए तिनले युद्धविरामको स्थिति जोखिममा पर्ने चेतावनीसमेत दिएका छन् ।

आगामी दिनमा युद्धविरामको वास्तविक परीक्षण हुने उनले बताए । सिरियामा युद्धविराम लागू गराउन रुस र अमेरिकाले शुक्रबार सहमति गरेका थिए । विद्रोही नियन्त्रणमा रहेको एलेप्पो शहरको पूर्वी भागमा राहत सामग्री पु¥याउनु अहिलेको मुख्य प्राथमिकता रहेको उनले बताए ।
तर सिरियाली विदेश मन्त्रालयले उसको सहमतिविना कुनै राहत सामग्रीको एलेप्पोमा ढुवानी हुन नदिने चेतावनी दिएको छ । गोलाबारी नभएकाले त्यहाँ बालबालिका सडकमा खेलेका छन् । सिरियामा देशका अधिकांश भागमा सोमबारदेखि भएको युद्धविराम लागू भएको देखिँदा राहत सहायता सामग्री बोकेका ट्रक आवश्यक स्थानहरूमा जान तयार भएर बसेका छन् ।
त्यस्ता आपतकालीन सहायता सामग्रीको ढुवानी बुधबारबाट सुरु हुने ठानिएको छ । तर रुसले देशभर युद्धविराम उल्लंघनका २० भन्दा धेरै घटना विद्रोहीहरूद्वारा भएको भन्दै अमेरिकालाई उसले समर्थन गर्दै आएका विद्रोही समूहलाई नियन्त्रण गर्न भनेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्