ग्रेट वाल मर्मतका लागि चन्दा !


 


great-wall-of-chinaबेइजिङ (एजेन्सी), भदौ ३१

 विश्वको ऐतिहासिक धरोहरका रूपमा रहेको चीनको ‘ग्रेट वाल’ जोगाउन चन्दा उठाउन सुरु गरिएको छ । पुरातत्व विभागका अधिकारीहरूले ग्रेट वालको मर्मतका लागि चन्दा अभियान सुरु गरेका हुन् ।

‘चाइना रेडियो इन्टरनेसनल’ को एक रिपोर्टका अनुसार अगस्टमा सुरु गरिएको यस अभियानका लागि अहिलेसम्म १६ हजार व्यक्तिले अनलाइनमार्फत चन्दा जम्मा गरिसकेका छन् । अहिलेसम्म यस अभियानमार्फत करिब ४५ हजार डलर जम्मा भएको छ ।

यो अभियान ‘चाइनिज फाउण्डेशन फर कल्चरल हेरिटेज कन्जरभेसन’ को तर्फबाट चलाइएको छ । यो सरकारको निगरानीमा काम गर्ने एक संस्था हो ।

यस संस्थाले ग्रेटवाल मर्मत अत्यन्त जरुरी रहेको बताएको छ । फाउण्डेसनले आगामी डिसेम्बरसम्म करिब १७ लाख डलर चन्दा संकलन हुने आशा गरेको छ । चन्दा संकलन गर्ने संस्थाका अधिकारी तुङ याहुइले यो विशाल धरोहरको सुरक्षा गर्नु सरकारको मात्र जिम्मेवारी नभएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘चन्दा दिने हरेक व्यक्तिलाई समेटिएपछि चाहे उनीहरूबाट संकलित रकम निकै थोरै किन नहोस्, हामी यो भव्य बाल बचाउनका लागि मर्मत सम्भारमा खर्च गर्नेछौं ।’ जम्मा गरिएको उक्त रकमको प्रयोग ‘शिफेन्काउ’ सेक्सनको मर्मतका लागि खर्च गरिनेछ । विश्वको सबैभन्दा लामो यस वालको शिफेन्काउ क्षेत्र ठूलो जलायस हुँदै अघि बढेको छ ।

तुङका अनुसार यसमा भएको सबै खर्चको जानकारी गराइनेछ । चीनका कतिपय सामाजिक सञ्जालमा भने यो अभियानप्रति प्रश्न उठाइएको छ ।

कतिपयले भत्किएका संरचनाको पुनर्निमाण सम्भव छ छैन भन्नेबारे प्रश्न उठाएका छन् भने कतिपयले यो विशाल संरचना पुनर्निमाणका लागि चन्दाको भर पर्नु उचित नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्नेहरूमध्ये एक व्यक्ति लेख्छन्, ‘सरकारसँग निकै धेरै पैसा छ, किन चन्दाको जरुरी प¥यो ?’ त्यस्तै अर्का एक व्यक्ति लेख्छन्, ‘चन्दा दिनेहरूलाई के ग्रेटवाल भ्रमणका लागि प्रवेश शुल्क तिर्नुपर्छ ?’

कतिपयले ग्रेटवाल मर्मतका लागि चन्दा दिन पाउनु गर्वको विषय भएको समेत सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्