मनिषाकाे समर्थन गर्दै विप्लवकाे दियाे भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनी


 


काठमाडौं, जेठ ८
कालापानीकोसीमा विवादकाे विषयमा मनिषा कोइरालाले नेपालको अडानलाई समर्थन गरेसँगै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विभिन्न प्रश्न उठाएका छन्।
साथै उनकाे भारतीय मिडियाले तथा नामका शब्द प्रयाेग गरी खेदो नै खनिरहेका छन्।

साेही क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघले कोइरालाविरुद्ध भारतीय मिडियामा आएका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। भारतीय मिडियाले कोइरालाले भारतीय नुन खाएर चीनको गीत गाएको आरोप लगाउन थालेसँगै महासंघले मनिषा कसैको दयाले नभई आफ्नो श्रम र सीपले अगाडि बढेको बताएको छ।

‘नेपाली छोरीले नेपालको माया गर्न नपाउने?’ महासंघले वक्तव्य जारी गर्दै प्रश्न गरेको छ, ‘श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन’ भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ। हामी नेपालकी नायिका मनिषा कोइरालामा जीवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहन्छौँ।’

महासंघले नेपाल र नेपाली जनताको विरोध गर्ने भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ। ‘मनिषा कोइरालाको अभिव्यक्तिमाथि प्रहार हुनु सांस्कृतिक अतिक्रमणकै नयाँ शृङ्खलाको रूपमा हाम्रो सङ्गठनले लिएको छ। भारतीय साम्राज्यवादी सांस्कृतिक प्रदूषणका विरुद्ध हामी निकै लामो समयदेखि सङ्घर्ष गर्दै आइरहेका छौँ,’ वक्तव्यमा भनिएको छ, ‘भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पुयाउने सम्पूर्ण हर्कत बन्द नगरे हामी नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौँ।’

भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको प्रतिवादसमेत महासंघले गरेको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्