विवादास्पद विषयवस्तु भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन सञ्चार मन्त्रालयको निर्देशन



काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ।

मन्त्रालयले असार २६ गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो।

निर्देशनअनुसार नेपालभित्र सार्वजनिक प्रदर्शन गरिने सबै चलचित्रले अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट प्रचलित कानुनबमोजिम जाँचपास गराउनुपर्नेछ।

मन्त्रालयले चलचित्र निर्माता, वितरक तथा सम्बन्धित सबै पक्षलाई ऐनको व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। जाँचका क्रममा ऐनविपरीतका विषयवस्तु समावेश भएका चलचित्र फेला परेमा प्रदर्शन अनुमति दिन नसकिने मन्त्रालयले जनाएको छ।

साथै, उक्त कानुनी व्यवस्थाबारे सबै निर्माता, वितरक तथा सरोकारवालालाई जानकारी गराई आवश्यक समन्वय गर्न चलचित्र विकास बोर्डलाई मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्