भक्तपुरमा एक महिलामा देखियो कोरोना, उपत्यकामा मात्रै संक्रमितको संख्या १७ पुग्यो


 



काठमाडौं, जेठ ९
भक्तपुरमा आज साँझ थप एक महिलामा कोरोना संक्रमण देखिएको छ । भक्तपुर ९ की ४२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । काठमाडौंमा मात्रै १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै ललितपुरमा हालसम्म १ जना र भक्तपुरमा शुक्रवार थपिएका संक्रमितसहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज मात्रै ६४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

हालसम्म ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्