आरडिटी किटको भर पर्दा गयो ज्यान


 


सुर्खेत जेठ २३

कोरोना परीक्षणमा आरडिटी किटको भर पर्दा एक जनाको ज्यान गएको छ ।

रोजगारीका लागि भारत पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक ७ जेठमा स्वदेश फर्किए । सुर्खेत प्रवेश गर्ने विन्दु बबईमा र्‍यापिड डायग्नोस्टिक टेष्ट आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि स्थानीय तहको क्वारेन्टिनमा पठाइयो ।

विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी विधिबाट टेष्ट गर्दा फेरि रिपोर्ट नेगेभिट आयो । त्यसपछि ‘सात दिनसम्म होम क्वारेन्टिनमा बस्ने छु’ भन्ने फारम भरेर २१ गते घर जान पाए ।

क्वारेन्टिन स्थलबाट केही घण्टाको दुरीमा रहेको घर उनी हिँडेर गए । त्यही रात २ बजे उनको मृत्यु भयो ।

बिहीबार स्वाब संकलन गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशाखा सुर्खेत पठाउँदा उनमा कोरोना संक्रमण पुष्टि भयो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयकास्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारी भन्छन्, ‘टाइम अफ इन्फेक्सनमा हामी पनि द्विविधामा छौं ।’

भारतबाट संक्रमित भएर आएको भए आरडीटी पोजेटिभ आउनुपर्ने उनको तर्क छ । तर १४ दिन क्वारेन्टिन बसेपछि गरिएको आरडीटी टेष्टको रिपोर्ट पनि नेगेटिभ नै आयो ।

ती युवकमा कोरोना संक्रमणको लक्षण पनि थिएन । ‘खोकी मात्र लागेको भए हामीले रोक्थ्यौं, तर केही नै थिएन’ डा तिवारी भन्छन्, ‘तर मृत्युपछि पीसीआर विधिको परीक्षणको नतिजा पनि पोजेटिभ आएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओको गाइडलाइन र पोस्टमार्टम गर्न सक्ने अवस्था पनि नभएकाले मृत्युको कारण कोरोना नै भनेका छौं ।’

तिवारी अघि भन्छन्, ‘उहाँको मृत्यु भयो, यो दुखद छ । सँगै यसले हामीलाई आरडीटी टेष्टबारे सोच्न बाध्य बनाएको छ । यसबारे हामी छलफल पनि गरिरहेका छौं ।’

कर्णाली सरकारको तथ्यांकअनुसार प्रदेशका क्वारेन्टिनहरुमा ३२ हजार भन्दा धेरै मानिस छन् । अधिकांश क्वारेन्टिनस्थल मापदण्डअनुसार छैनन् भने समयमा परीक्षण हुन पाएको छैन । क्वारेन्टिन भरिएपछि १० दिन वा सोभन्दा बढी समय बसेकालाई आरडीटी टेष्ट गर्ने र होम क्वारेन्टिनमा पठाउन थालिएको छ ।

तर सुर्खेतका युवकको मृत्युले आडीटीमाथि फेरि प्रश्न उठाएको छ । डा तिवारी भन्छन्, हामी विज्ञहरुले कहिल्यै पनि आरडीटीलाई प्रमोट गरेका छैनौं । तर कम्युनिटी लिडरहरुमा आरडीटी नेगेटिभ आएपछि ढुक्क हुन्छ भन्ने बुझाइ छ ।’

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्