संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्छु – प्रधानमन्त्री दाहाल


 


Prachanda-Chairman-of-Maoist-Center

चितवन,  असोज १२

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दललाई मिलाएर राष्ट्रलाई उन्नतितर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएकोे बताउनुभएको छ ।

पश्चिम चितवनको दिव्यनगरमा रहेको आदर्श माविको स्वर्ण महोत्सवको आज समापन गर्दै उहाँले गणतन्त्रका संस्थापक नेता गिरिजाप्रसाद कोइरालाको निधनपछि सबैलाई मिलाएर देशलाई समृद्घितर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो ।

यो जिम्मेवारीलाई रत्तिभर विचलित नभई पूरा गर्ने विश्वास दिलाउँदै उहाँले संविधान जारी गर्न सहयोग पु¥याउने र असन्तुष्ट सबै दलसँगसमेत सहकार्य गरी संविधान कार्यान्वयनमा आफू लागिपर्ने बताउनुभयो ।

आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच विश्वासको नयाँ वातावरण पैदा गरेको उहाँको दाबी थियो ।

यसअघि दुई देशबीच सहमति भई कार्यान्वयन हुन बाँकी रहेका कार्यले मूर्तरुप पाउने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो – “भारतीय बजारमा नेपालको विद्युत् बिक्रीका लागि भ्रमणबाट नयाँ वातावरण बनेको छ ।”

हुलाकी सडक निर्माणका लागि भारतसँग दोस्रो चरणमा सम्झौता भइसकेकाले यसलाई तत्काल कार्यान्वयनमा लानेतर्फ सरकारको ध्यान गएको बताउँदै उहाँले ठोरी–केरुङ सडक नेपालका लागि महत्वपूर्ण र चीनसँगको सम्बन्ध थप सुधारका लागि कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा पश्चिम चितवनका बासिन्दाले हैरानी बेहोर्दै आएको भरतपुर–चनौली–गोलाघाट सडकको मर्मतसम्भार ढिलाइकाबारे आफँैले बुझ्ने र अनुगमनको जिम्मा स्वयम् प्रभानमन्त्री कार्यालयले गर्ने उहाँले बताउनुभयो ।

गृहजिल्ला चितवन भएर पनि बाहिरी जिल्लाबाट चुनाव लड्दै आउनुभएका प्रधानमन्त्री दाहालले प्रतिस्पर्धात्मक राजनीतिमा गृहजिल्लाको महत्व हुने भन्दै यसको विकासका लागि आफ्नो विशेष चासो रहेको स्पष्ट पार्नुभयो । आदर्श माविलाई कृषि प्राविधिक शिक्षालय बनाउन सरकारले पहल गर्ने पनि वचनबद्धता पनि उहाँले प्रकट गर्नुभयो ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्