पहिले यसरी लगाइन्थ्यो आईजीपीको फुली


 



काठमाडौं, असार २६ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) अनन्तराम भट्टराईले बिहीबार फेसबुकमा स्टाटस लेखे, ‘सेवा निवृत्त प्रहरी महानिरीक्षकले नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाइदिने तोडिएको परम्परा पुनः सुरु भएको भए राम्रो हुने थियो ।’

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न पाएको प्रति असन्तुष्टि जनाउँदै पूर्वएआईजी भट्टराईले यस्तो स्टाटस लेखेका थिए ।

सरसर्ती हेर्दा सामान्य लागे पनि उनको स्टाटस अवकाशमा जान लागेका आईजीपीले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिनेसम्बन्धी विगतको परम्परा पुनः स्थापित हुनुपर्छ भन्ने हो । यो परम्परा २०४९ सालमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा र २०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले तोडेका थिए ।

राजनीतिक दाउपेच र हस्तक्षेप भित्र्याएर प्रहरीमा विकृति निम्ताएको आरोप देउवा र गौतममाथि अहिले पनि लाग्दै आएको छ । दुईवर्षे कार्यकाल छँदै आईजीपी रत्नशमशेर राणालाई ३० वर्षे उमेरहद लगाएर हटाइयो । त्यसपछि मोतीलाल बोहरा आईजीपी बने । उनलाई परम्परा तोडेर देउवाले दर्ज्यानी चिह्न लगाइदिएको पूर्वएआईजी अनन्तराम भट्टराई बताउँछन् । २०५३ सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा गौतम गृहमन्त्री थिए ।

आईजीपी थिए, अच्युतकृष्ण खरेल । २०५३ फागुन १५ मा सरकारले खरेललाई आईजीपीमा बढुवा गर्‍यो । खरेललाई उनका अग्रज तथा अवकाशमा जान लागेका आईजीपी मोतीलाल बोहराले दर्ज्यानी चिह्न लगाइदिएर जिम्मेवारी हस्तान्तरण गरेका थिए । बोहरा–खरेलको सम्बन्धमा तिक्तता थियो । तर फौजी अनुशासन भएका कारण बोहराले आउने आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिएर जिम्मेवारी हस्तान्तरण गरेका थिए । कान्तिपुर दैनिक

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्