ओली–प्रचण्ड वार्ता: यस्तो भयो सहमति


 



काठमाडौं, असार ३१
शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

राजीनामा प्रकरणपछि दुई अध्यक्षबीच संवाद नै हुन छोडेपछि पार्टीका दोस्रो तहका नेताहरुको दबाबमा अध्यक्षद्वयको बीचमा वार्ताले निरन्तरता पाउँदै आएको छ । प्रचण्ड गृहजिल्ला चितवनमा तीन दिन बिताएर फर्किएपछि पुनः ओली र प्रचण्डबीच मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ ।

छलफलका क्रममा सहमतिकै आधारमा पार्टीभित्रको संकट हल गर्ने निष्कर्षसहित छलफल सकिएको प्रचण्डको सचिवालयले बताएको छ । स्थायी कमिटीको बैठक जारी रहेको बेला प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भारतले आफ्नो सरकारलाई हटाउन लागेको विषय सार्वजनिक गरेपछि पार्टीभित्रैबाट ओलीको राजीनामा मागिएको थियो ।

बैठकमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने पक्षमा दबाब बढेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर अध्यक्षद्वय ओली र प्रचण्ड सहमति खोज्न वार्तामा जुटेका हुन् । अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिका लागि समय लिएर बैठक साउन २ गतेसम्म स्थगित गरेका छन् ।

मंगलबारको वार्तामा एकता गर्दाको आधार, सचिवालयको निर्णयअनुसार समाधान खोज्ने गरी छलफल भएको बताइएको छ । आजसम्मको छलफलमा ओली र प्रचण्डबीचमा कायम भएको आशंकाको दूरी कम भएको र बिहीबारको बार्तामा निष्कर्ष दिने गरी गृहकार्य भइरहेको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार अब धेरैपटक वार्ता भइसकेकाले निकास दिनुपर्ने पक्षमा अध्यक्षद्वय ओली प्रचण्ड पुगेका छन् । सकेसम्म दुवै अध्यक्ष एकले अर्कोलाई गलाएर बढी शक्ति लिने नीतिअन्तर्गत वार्तामा जुटेको बताइएको छ ।

बालुवाटारमा अध्यक्षद्वय ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो । गृहजिल्ला चितवन पुगेर अध्यक्ष प्रचण्डले पार्टी विभाजन हुन नदिने अभिव्यक्ति दिएपछि तत्कालका लागि नेकपाभित्रको आन्तरिक संकट टरेको छ । नेपाल समाचारपत्र

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्