सोफियाको तीज गीत विवादमा, युटुबबाट हटाउन माग


 



काठमाडौं, साउन ७
बजारमा ल्याएको तीज गीतले गर्दा गायिका सोफिया थापा विवादमा तानिएकी छन् । ‘तीज व्रत नबसौं, महिला पुरुष दुबै बराबरी भएकाले खुट्टाको पानीसमेत नखाऔं’ भन्दै गीत ल्याएपछि उनी विवादमा तानिएकी हुन् ।

उनले दर नखाने, रंगीविरंगी चुरा, सारी, गहना नलगाउन पनि यो गीतमा आह्वान गरेकी छन् । तीजमा व्रत बस्नु सांस्कृतिक मात्र नभएर वैज्ञानिक कारणसमेत भएको बताउने महिलादेखि हिन्दूवादी संस्थाहरूले उनको यो गीतको अहिले विरोध गरेका छन् ।

यो गीतको भिडियो विदेशी पहिरनमा सजिएर, विदेशी शैलीको नृत्य प्रस्तुतसहित तयार गरिएको छ । गीत गर्दै ‘अबको तीज नो नाचगान प्जिल’ भनेर तीजको नृत्यकै विरोधमा तीज गीत ल्याएको र तीज संस्कृतिमाथि प्रहार गरेको भन्दै उनको यो गीतको विरोध भएको हो ।

यो गीत आएसँगै आफूलाई हिन्दूवादी संस्थामा आबद्ध विभिन्न व्यक्तिहरूले ज्यान मार्ने धम्की दिएको गायिका थापाले बताएकी छन् । आफूलाई फोनमा विभिन्न व्यक्तिहरूले र विभिन्न संंस्थाका पदाधिकारीहरूले धम्की दिएपछि उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएको गायिका सोफिया थापाले बताएकी छन् । उनले आफ्नो ज्यानको सुरक्षाको माग पनि प्रहरीमा गरेकी छन् ।

उनको यो गीत युट्युब च्यानलबाट हटाउन माग गरिएको छ । गीतको रचना र संगीत पनि सोफियाकै हो । आफूले लैंगिक विभेदविरुद्ध जनचेतना जगाउन यो गीत ल्याएको पनि उनले बताएकी छन् । उनले आफूले कुनै गल्ती नगरेकाले गीतलाई युट्युबबाट नहटाउने बताउँदै आएकी छन् ।

प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्