नुवाकोट र रसुवामा यातायात ठप्प


 


नुवाकाेट, असाेज १४

पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज नुवाकोट र रसुवामा यातायात ठप्प बनाएको छ । नुवाकोट र रसुवामा एकतर्फी यातायात सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि केरुङ यातायातले थप वस सेवा सञ्चालन गरेपछि पासाङल्हामुका वस सञ्चालकहरु विरोधमा उत्रिएका हुन् ।

आज विहानैदेखि पासाङल्हामु यातायात सेवा समितिका एक सय ५० भन्दा धेरै वसहरु सदरमुकाम विदुरसहित आसपासको सडकमा वस तेस्र्याएर अवरोध गरिरहेका छन् मुख्य सडकमा अन्य यातायातका साधन सञ्चालन गर्नै नसकिने गरी भएको अवरोधलाई स्थानीय प्रशासनले हटाउनका लागि पहल गरेको छैन । ढुंगे, त्रिशूली, बट्टार, पिपलटार क्षेत्रमा वसहरु लाइन लगाएर खडा गरिएको छ ।

राजमार्ग नै अवरुद्ध हुने गरी वस तेस्र्याएपछि एम्बुलेन्स, व्यक्तिगत सवारी साधन, भाडाका र अन्य मालबाहक सवारीसमेत आवतजावत गर्न समस्या भएको एक व्यापारीले बताएका छन् । । पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले नयाँ बस सेवा सञ्चालनको अनुमति लिएको केरुङले पुराना बसहरुसमेत सञ्चालन गरेकोले विरोधमा उत्रनु परेको बताउनुभयो ।

केरुङ यातायात प्रालिका अध्यक्ष किरण रिजालले पासाङल्हामुले एकाधिकार तोडिएको विरोधमा यात्रा गर्न पाउने सर्वसाधारणको अधिकारमाथि प्रहार गरेको बताउनुभयो । केरुङ यातायात समितिले भने आफ्नो सेवालाई निरन्तरता दिइरहेको जनाएको छ । उहाँले जिल्लाका सुरक्षा निकायलाई आवश्यक सहयोगको लागि आग्रह गरिएकाले आफ्नो समितिका वसहरुले नियमित सेवा दिने बताउनुभयो ।

बर्षौदेखि पुराना र थोक्रा गाडी सञ्चालन गर्दै आएको पासाङल्हामुको एकाधिकार तोड्दै नयाँ डिलक्स वसको सञ्चालनपछि पासाङल्हामु विरोधमा उत्रिएको यात्रुहरुको गुनासो रहेको छ । यात्रुहरुले सुविधा सम्पन्न वसमा सुरक्षित यात्रा गर्ने अवसरलाई चुनौती दिँदै पूरानै वसमा यात्रु कोच्न पाउनुपर्ने मान्यता बोकेको कारण यात्रुहरुले हैरानी व्यहोर्नुपरेको ढुंगेका एक व्यापारीले बताए ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले भने सडक मार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सडक रोकेर विरोध गर्ने अधिकार कसैसँग नभएकोले अन्य सवारी साधनलाई गन्तव्यतर्फ पठाउन प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्