सार्क सम्मेलन स्थगित


 


saarc-logoकाठमाडौं, असाेज १५

आगामी कात्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन स्थगित भएको छ। भारतसहित पाँच सदस्य राष्ट्रले इस्लामाबाद आतंकको छायामा रहेको जनाउँदै सम्मेलनमा सहभागी नहुने बताएपछि आयोजक सदस्य पाकिस्तानले शुक्रबार सम्मेलन स्थगन गरेको हो।

भारतीय समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ का अनुसार पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा आगामी सार्क सम्मेलन स्थगन गरिएको र छिट्टै नयाँ मिति घोषणा गरिने उल्लेख छ। सार्क सदस्य भारतले बुधबार पाकिस्तानमा आतंकको त्रासदी बढिरहेको औंल्याउँदै यस्तो अवस्थामा त्यहाँ हुने सार्क शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो।

लगत्तै अफगानिस्तान, बंगलादेश र भुटानले पनि भारतलाई पच्छ्याउँदै सम्मेलनमा भाग नलिने घोषणा गरेका थिए। पिटिआईका अनुसार शुक्रबार श्रीलंकाले पनि सम्मेलनमा भाग नलिने जनाउ दिएलगत्तै पाकिस्तानले सम्मेलन स्थगनको निर्णय लिएको हो। उसले सम्मेलन आयोजनाको इच्छा भने अझै त्यागेको छैन।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्