कमेडी च्याम्पियन सिजन–२ : अडिसन कहिलेदेखि सुरु हुँदैछ ?


 



काठमाडौं, साउन १९
कमेडी च्याम्पियन सिजन–२ को अडिसन यही भदौ १५ गतेबाट सुरु हुने भएको छ । सिजन-२ को अडिसनको दोस्रो प्रोमो सार्वजनिक गर्दै आयोजकले अडिसन मिति घोषणा गरेको हो । 

पहिलो प्रोमो सार्वजनिक भएको केही दिनमा आयोजकले दोस्रो प्रोमो सार्वजनिक गरेको हो । पहिलो प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरेको आयोजकले दोस्रो प्रोमोमा सिजन १ का प्रतियोगीको कमेडीको पञ्च लाइनको किल्प्स काटेर राखेको छ । 

प्रोमोमा अडिसन मिति सार्वजनिक गरे पनि अडिसन कसरी दिनबारे विस्तृत जानकारी भने दिइएको छैन । निर्देशक विशाल भण्डारीले अन्य प्रोमामा थप जानकारी दिँदै जाने बताए ।

डिजिटल अडिसन लिइने छ । तर त्यसका सर्तहरु पछि सार्वजनिक गरिने उनले बताए ।  निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन् । 

नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–१ मा हिमेश पन्त विजयी भएका थिए भने क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन दोस्रो र तेस्रो भएका थिए ।

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्