प्रकाश सपुतको ‘बदला बरीलै’ दुई दिनमै नम्बर एक ट्रेन्डिङमा (भिडियोसहित)


 


काठमाडौं, साउन २०

चर्चित गायक प्रकाश सपुतको नयाँ तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ ।
बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ ।

गीतमा लोक गायक प्रकाश सपुतको शब्दरसङ्गीत र लोक गायिका देवी घर्तीको स्वर छ । भिडियो निर्देशन पनि सपुतले गरेका छन् । भिडियोमा नायिका केकी अधिकारी र धुर्व कोइरालाको मुख्य अभिनय छ ।

समाजको ज्वलन्त मुद्दा, मौलिक रचना र जीवन्त प्रस्तुतीले गीतलाई सम्प्रेष्य बनाएको छ । गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरेको छ ।

बलात्कृत हुँदाको महिलाको पीडा र विवशताबाट शुरु भएको गीतको कथा बदलामा गएर टुङ्गिन्छ । अपराध कर्म गर्ने जो कोही एक न एक दिन सजायको भागीदार हुनै पर्ने प्रतिकात्मक सन्देश गीतले दिएको छ ।

सपुतको दुई वर्षअघि सार्वजनिक लोकगीत ‘बोल माया’ पनि त्यसबेला युट्युब ट्रेन्डिङको शीर्ष स्थापनमा पुगेको थियो ।

सपुतको गत वर्ष सार्वजनिक लोक दोहोरी गीत ‘गलबन्दी’ पनि चर्चाको शिखरमा पुगेको थियो । त्यस गीतले अहिलेसम्म युट्युबमा चार करोड बढी भ्यूज बटुलेको छ ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्