कोरोनाबाट थप चारको मृत्यु, ३३८ संक्रमित थपिए


 


काठमाडौं, साउन २६
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिला र दुई पुरुषको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयकाअनुसार बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड संक्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको सोमबार मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

सोमबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । आठ हजार ४३४ नमूना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घन्टामा १४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ४९३ पुगेको छ । देशभर सक्रिय संक्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्