पर्वतारोहणका लागि नेपाल आएका बहराइनका राजकुमार लुक्ला जाँदै


 


काठमाडौं, असाेज ७
पर्वतारोहणका लागि नेपालमा रहेको बहराइनका राजकुमारसहित १८ जनाको टोली आज लुक्ला जाने भएको छ। भदौ ३१ गते नेपाल आएको टोली होटल क्वारेन्टिनका लागि गोकर्ण फरेस्ट रिसोर्टमा बसेको थियो।

असोज ५ गते सोमबार कोरोना जाँच गराएको टोली मंगलबार रिपोर्ट नेगेटिभ आएपछि लुक्ला प्रस्थान गर्ने कार्यक्रम रहेको फोटिन पिक एक्सपिडिसनका समूह नेता टासी शेर्पाले जानकारी दिए। तारा एअर र हेली एभरेस्ट चार्टर्ड गरी लुक्ला जाने कार्यक्रम रहेको शेर्पाले अन्नपूर्ण पोस्ट्लाई बताए। त्यहाँबाट राजकुमारको टोली लोबुचे हिमाल आरोहणका लागि प्रस्थान गर्ने कार्यक्रम छ। गाइड, टोली नेता, सम्पर्क अधिकृत गरी करिब २१ जना थप टोलीमा समावेश गरेर पहिला खुम्बु क्षेत्रको लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम रहेको बताइएको छ। लोबुचेको हिमाल चढ्ने अनुमति नेपाल पर्वतारोहण संघले दिइसकेको अध्यक्ष सन्तवीर लामाले जानकारी दिए। ६,१४५ मिटर उचाइको लोबुचे हिमाल आरोहणको प्रतिव्यक्ति राजस्व १ सय २५ अमेरिकी डलर तोकिएको छ। राजकुमारको टोली ११ दिनमा लोबुचे आरोहण गरी फर्किने कार्यक्रम छ।

त्यसपछि गोरखा जिल्लामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि राजकुमारको टोली प्रस्थान गर्नेछ। हेली एभरेस्ट चार्टर्ड गरेर नै मनास्लुसम्मको यात्रा तय हुनेछ। मनास्लु आरोहणका लागि पर्यटन विभागले स्वीकृति दिइसकेको समूह नेता शेर्पाले जानकारी दिए। नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरेर पर्वतारोहण गर्न निर्देशन दिइएको विभागका महानिर्देशक रुद्र तामाङले बताए। उक्त टालीले करिब २० देखि २५ दिनमा मनास्लु आरोहण गर्ने योजना बनाएको छ।

कोरानाका कारण करिब ६ महिनादेखि बन्द पदयात्रा तथा पर्वतारोहण औपचारिक रूपमा नखुले पनि भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहणका लागि विशेष अनुमति दिने निर्णय गरेपछि बहराइनका राजकुमारसहित १८ जनाको टोली नेपाल आइपुगेको हो। १८ जनामा बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफा, १५ जना बहराइनका रोयल गार्ड र ३ जना बेलायती नागरिक छन्।

बहराइनस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको प्रस्तावपछि सरकारले विशेष अनुमति दिएको पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए। चार्टर्ड फ्लाइटसहित नेपालमा पर्वतारोहणका लागि अनुमति दिइएको उनले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। ‘पदयात्रा तथा पर्वतारोहण खुली नसकेको अवस्थामा कूटनीतिक पहल भएका कारण मन्त्रिपरिषद्ले विशेष अनुमति दिएको हो। उक्त टोली करिब दुई महिना नेपाल बस्नेछ’, सचिव अधिकारी बताउँछन्। तीन महिनाकोे भिसामा आएकोे टोलीले नेपाल भ्रमणको क्रममा ठूलो धनराशि खर्चिने भनिए पनि त्यसबाट नेपाल सरकारले कति राजस्व उठाउँछ भन्ने खुलाइएको छैन। सेभेन समिट ट्रेकले उक्त भ्रमणको आयोजना गरेको हो।

सन् २०२० का लागि निर्धारण भएका लोबुचे र मनास्लु हिमालको आरोहणपछि राजकुमारको टोली २०२१ मा सगरमाथा आरोहणको तयारीमा रहेको नेपाल टे«किङ एजेन्सी संघका सचिव दामोदर ढकालले जानकारी दिए। हिमाल आरोहणको अभ्यासका लागि लोबुचे छनोट गरिएको छ। करिब ६ महिनादेखि बन्द पर्वतारोहणका लागि शरद ऋतुका लागि यो अनुमति दोस्रो हो। यसअघि बरुन्चे हिमाल आरोहणका लागि नेपाली टोलीलाई अनुमति दिइएको थियो। यही अक्टुबर १७ बाट पदयात्रालाई खुलाउने तयारीमा सरकार छ। शरद ऋतुको सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिना नेपालमा पर्वतारोहणको मानिन्छ। अन्नपुर्ण पाेष्ट

प्रकाशित मिति: ७ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्