५३ वर्षमा फुटबलको शीर्ष लिग खेल्दै किङ काजु


 


जापान, असोज १० एजेन्सी

काजुयोसी मिउरा अर्थात ‘किङ काजु’ जापानको शीर्ष डिभिजनको जे लिग खेल्ने भेट्रान खेलाडी बनेका छन् । बुधबार राति कावासाकी फ्रन्टालेविरुद्ध योकोहामा एफसीबाट खेल्दै उनी जे लिग खेल्ने भेट्रान खेलाडी बनेका हुन् ।

५३ वर्षको उमेरमा पनि व्यवसायिक लिग खेल्दै काजुले जे लिगमा नयाँ कीर्तिमान बनाएका हुन् । उनलाई नै टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो । उनको टोली जे लिगको शीर्षस्थानमा रहेको कावासाकीसँग ३–२ ले पराजित भएको थियो ।

काजुले ५६ मिनेट मैदानमा बिताएका थिए । उनलाई कोकी साइटोले प्रतिस्थापन गरेका थिए । काजुले गोल गर्न भने सकेनन् । तोडोरोकी स्टेडियममा ४ हजार ७ सय समर्थकले उनलाई उठेर सम्मान अर्पण गरेको थियो ।

मिउराले क्योदो न्युज एजेन्सीलाई आफू मैदानमा प्रवेश गर्दा आफ्नो कर्तव्य पुरा गर्न र आर्मब्यान्डमा सबैको भावना पोखाउने गहिरो इच्छा रहेको बताएका थिए । बुधबार राति योकोहामाबट खेल्दा काजु मात्रै टोलीका भेट्रान खेलाडी थिएनन् ।

उनीसँगै ४२ वर्षीय जापानका पुर्व अन्तर्राष्ट्रिय खेलाडी सुुनसुके नाकामुराले पनि पहिलो रोजाईमा सुरुवात गरेका थिए । काजु २००५ देखि योकोहामामा आबद्ध छन् । उनले एक सिजन सिड्नी एफसीबाट लोनमा खेलेका थिए ।

सन् १९८६ मा अर्थात ३४ वर्षअघि १९ वर्षको उमेरमा ब्राजिली क्लब सान्तोसबाट व्यवसायिक खेल जीवन सुरु गरेका थिए । मिउराले सन् २००७ पछि जापानको शीर्ष डिभिजन खेलेका हुन् । योकोहामा १२ वर्षसम्म दोस्रो डिभिजनमा रहेको थियो । योकोहामा गत वर्ष जापानको शीर्ष डिभिजनमा बढुवा भएको थियो ।

उनले २०१२ मा ४५ वर्षको उमेरमा कन्साडोल सप्पारोको लागि खेल्दै फरवार्ड मासासी नाकायमाले राखेको कीर्तिमानलाई तोडेका थिए ।

मिउराले १९९० देखि २००० सम्म जापानका लागि ८९ खेल खेल्दा ५५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । २०१२ मा उनी जापानको राष्ट्रिय फुटसल टोलीको सदस्यसमेत रहेका थिए । उनले फुटसलमा ६ खेलमा १ गोल गरेका थिए ।

प्रकाशित मिति: १० आश्विन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्