हैदराबादमाथि कोलकाताको उत्कृष्ट जित


 


एजेन्सी, असाेज ११
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । ओईन मोर्गन २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे ।

चौथो विकेटका लागि गिल र मोर्गनले ९२ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । सुनिल नारायण र दिनेश कात्र्तिक दुबै शून्यमा आउट भए । नितेश राणा २६ रनमा आउट भए । हैदराबादका टि नटराजन, राशिद खान र खलिल अहमदले एक एक विकेट लिए । त्यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । हैदराबादका मनिष पान्डेले अर्ध शतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

हैदराबादलाई ओपनर जोनी बेयरस्टो र डेभिड वार्नरले ४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । चौथो ओभरको अन्तिम बलमा प्याट कमिन्सले बेयरस्टोलाई ५ रनमा बोल्ड आउट गरे । त्यसभन्दा अघिल्लो बलमा रिभ्यु लिदै बचेका बेयरस्टो कमिन्सको अफकटर बलमा बोल्ड आउट हुन पुगेका थिए । दशौं ओभरको पहिलो बलमा बरुण चक्रबर्तीले कप्तान तथा डेभिड वार्नरलाई ३६ रनमा कट एण्ड बोल्ड आउट गरे । वार्नरले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि वार्नर र मनिस पान्डेले ३५ रनको साझेदारी गरेका थिए ।

आन्द्रे रसेलको १८ औं ओभरको चौथो बलमा फुलटस बलमा मनिष पान्डे ५१ रनमा क्याच आउट भएका थिए । रसेललेनै सहज क्याच लिनुअघि पान्डेले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अन्तिम ओभरको दोस्रो बलमा दुई रन लिने क्रममा रिद्धिमान शाह ३१ बलमा १ चौका र १ छक्का सहित ३० रनमा रन आउट भए । मोहम्मद नाबी ८ बलमा २ चौका सहित ११ र अभिषेक शर्मा २ रनमा अविजित रहे ।

प्याट कमिन्सले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बरुण चक्रबर्तीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । आन्द्रे रसेलले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगालोरसँग १० रनले पराजित भएको थियो । कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । हैदराबादले तेस्रँे खेल दिल्ली क्यापिटल्ससँग २९ सेप्टेम्बरमा खेल्ने छ । कोलकाताले ३० सेप्टेम्बरमा राजस्थान रोयल्सँग खेल्ने छ ।

प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्