अर्जेन्टिनाको लगातार दोस्रो जित


 


बोलिभिया, असोज २८ एजेन्सी

दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । अर्जेन्टिनाले घरेलु टोली बोलिभियामाथि २–१ को पूनरागमन जित निकाल्दै विश्वकप छनोटमा लगातार दोस्रो सफलता हात पारेको हो ।

ला पाजमा मंगलबार राति भएको खेलमा अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज र जोआकिव्न कोरेआले गोल गरे । घरेलु टोलीका मार्सेलो मोरेनोले गरेको गोल सान्त्वना बन्यो । खेलको २४औं मिनेटमा मार्सेलो मोरेनोले गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए ।

एलेजान्द्रो चुमासेरोको क्रसमा मार्सेले मोरेनोले हेडरमार्फत गोल गर्दा अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले प्रयास गरेपनि सफल हुन सकेन । ४२औं मिनेटमा लियान्द्रो ड्यानियल पारेडेसको प्रहार पोस्टमा लागेर बाहिरिदा अर्जेन्टिना बराबरीबाट चुक्यो ।

४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पालासियोसबाट आएको पासलाई अघि बढाउँदै गरेको क्रसलाई जोस कारास्कोले गरेको क्लियरेन्स मार्टिनेजलाई लाग्दै गोमा परिणत भएको थियो ।

७६औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई बोलिभियाका गोलरक्षक कार्लोस लाम्पेले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाको अग्रता टारे । ७९औं मिनेटमा जोआक्विन कोरेराले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

उनले लोउटारो मार्टिनेजको पासमा गरेको शक्तिशाली प्रहार लाम्पेले रोक्ने कुनै अवसर नै पाएनन् । त्यसपछि थप गोल निस्कन नसक्दा अर्जेन्टिना २–१ ले विजय हुन सफल भयो ।जितसँगै अर्जेन्टिनाको २ खेलबाट ६ अंक पुगेको छ । पराजित बोलिभियाले अंकको खाता खोल्न सकेको छैन ।

यस्तै अर्को खेलमा लुइस सुआरेजले खेलको अन्त्यतिर पेनाल्टीमार्फत दुई गोल गरेपनि उरुग्वेले इक्वेडरसँग ४–२ को लज्जापद हार बेहोरेको छ । इक्वेडरको जितमा मिचेल इस्ट्राडाले दुई गोल गर्दा मोइसेस काइसेडो र गोन्जलो प्लाटाले गोल गरे ।

प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्