ब्राजिलको जितमा नेयमारको ह्याट्रिक


 


काठमाडौं, असोज २८ एजेन्सी

फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४–२ ले‌ पराजित गरेको छ ।

खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भयो । खेलको छैटौं मिनेटमा आन्द्रे क्यारिलोले गोल गर्दै पेरुलाई अग्रता दिलाए । २८ अौं मिनेटमा ब्राजिलले पेनाल्टी पाउँदै खेलमा पुनरागमन गर्ने अवसर पायो । उक्त पेनाल्टीमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५६ अौं मिनेटमा रेनाटो टापियाले गोल गर्दै पेरुलाई अग्रता दिलाए । तर ८ मिनेटपछि नै ब्राजिल खेलमा फर्कियो । रोबर्टो फिर्मिनोको हेडरमा रिचार्लीसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८३ अौं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । एक मिनेट समय बाँकी हुँदा पेरु १० खेलाडीमा सिमित भयो । कार्लोस जाम्ब्रानोले ब्राजिलका खेलाडीमाथि हात उठाउँदा रेफ्रीले रातो कार्ड देखाए । ९०अौं मिनेटमा नेयमारले गोल गर्दै ४(२ को जित पक्का गरे ।

लगातार दोस्रो जितसँगै ब्राजिल छनोट तालिकाको शीर्ष स्थानमा पुगेको छ । अर्जेन्टिना पनि २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्