निर्मला पन्त हत्या प्रकरणमा मुछिएका एसपी विष्टको २६ महिनापछि पुनर्वहाली


 


काठमाडाैँ, पाैष १६
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

८ कात्तिक ०७५ मा गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाउने निर्णय गरेको थियो । प्रहरी नियमावलीमा भएको प्रावधानअनुसार विष्टले सो निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुनरावेदन दिएका थिए । त्यसकै आधारमा गृह मन्त्रालयको निर्णय उल्ट्याउँदै उनलाई पुनर्बहालीको निर्णय भएको एक मन्त्रीले बताए ।

एसपी विष्टलाई सेवाबाट हटाउँदा मुख्य तीन आरोप लगाइएको थियो । निर्मला हराएपछि खोजी गर्न चासो नदिएको, शव भेटिएपछि घटनास्थलको सुरक्षा नगरी प्रमाण मेटाएको र नक्कली अभियुक्त खडा गरेको । पछि गरिएका छानबिनमा यी आरोप पुष्टि हुन सकेनन् । सुरुमा पीडितलाई प्रहरीबाट राम्रो व्यवहार नभए पनि नियोजित रूपमा प्रमाण मेटाएको आधार भेटिएको थिएन ।

नक्कली अभियुक्त खडा गरिएको आरोप पनि पछि प्रहरीकै छानबिनमा गलत ठहरिएको थियो । एसपी विष्टले नै पक्राउ गरेका स्थानीय दिलीपसिंह विष्ट अहिले पनि अपराधको सबैभन्दा नजिक छन् । अनुसन्धानमा पनि बदनियत नदेखिएपछि उनलाई पुनर्बहाली गर्ने निर्णय गरिएको ती मन्त्रीले बताए ।

‘त्यतिवेला पनि प्रहरी नेतृत्व र गृह प्रशासनले प्रमाणभन्दा भिडको निर्देशनका आधारमा त्यस्तो निर्णय गरेको थियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘गृह र प्रहरी नेतृत्वको गलत निर्णयकै कारण यो घटनामा प्रहरी बदनाम भएको हो ।’

विष्टसँगै सेवाबाट हटाइएका इन्स्पेक्टरको भट्टको हकमा भने निर्णय भएको छैन । उनी स्थानीय वडा प्रहरी कार्यालयको इन्चार्ज थिए । निर्मला हराएको दिन बेलुका उनका परिवारले खोजी गर्न आग्रह गर्दा उनले चासो नदिएको र बेलुका साथीहरूसँग मदिरा पिएर बसेको छानबिनमा खुलेको थियो ।

निर्मलालाई न्याय कहिले रु
ढिलो भए पनि एसपी विष्टले यो घटनामा न्याय पाएको प्रहरी अधिकारीहरू बताउँछन् । तर, यो प्रकरणको मुख्य पाटो निर्मलाको परिवारलाई न्याय हो, जुन सरकारले अझै दिन सकेको छैन । निर्मलाको बलात्कार र हत्या कसले गरेको हो भन्ने अझै अनुत्तरित छ ।

प्रहरीका पछिल्ला अनुसन्धानले विगतमा पक्राउ परेका दिलीपसिंह विष्ट दोषी भएको परिस्थितिजन्य प्रमाणबाट देखिन्छ । तर, अकाट्य प्रमाण नहुँदा प्रहरीले यो घटना सुल्झाउन सकेको छैन ।

मृतक निर्मलाकी आमाले समेत दिलीपविरुद्ध नै किटानी जाहेरी दिएकी छिन् । विगतमा भन्दा उनीविरुद्ध धेरै प्रमाण भए पनि वैज्ञानिक प्रमाण नहुँदा फेरि पक्राउ गर्न नसकिएको एक अधिकारी बताउँछन् । सुरुमा पक्राउ पर्दा डिएनए म्याच नभएपछि उनी छुटेका थिए । पछि विज्ञको टोलीले गरेको छानबिनमा डिएनए परीक्षण नै गलत भएको खुलेको थियो ।

निर्मला हत्याको २९ महिना भइसकेको छ । यसबीचमा प्रहरीले एक दर्जनभन्दा धेरै अनुसन्धान टोली बनाएको छ । पछिल्लो समय पनि सिआइबीको टोलीले कञ्चनपुरमै बसेर अनुसन्धान गरिरहेको छ । यो घटनाको अनुसन्धानमा आबद्ध प्रहरीमाथि यातना र अनुसन्धानमा लापरबाही गरेका दुई मुद्दासमेत दायर भएका थिए । जसमा उनीहरूले सफाइ पाइसकेका छन् । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्