दलहरुकै संरक्षणमा अख्तियार प्रमुखलाई जोगाइएको सांसद चौधरीको आरोप


 


samsadकाठमाण्डौ, कार्तिक २

सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्नु कानुनी राज्यकै उपहास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले सर्वोच्च अदालत र कानुनी राज्यकै उपहास हुने गरी राजनीतिक दलहरुकै संरक्षणमा अख्तियार प्रमुख कार्कीले मनलाग्दी गरेको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले लोकमानसिंह कार्की विदेश जानु र लामो समय उतै बस्नुको कारण प्रधानमन्त्रीले सदनमा जानकारी दिनुपर्ने माग गरे ।

सांसद अधिकारीले लोकमानसिंह कार्कीको घरमा म्याद तामेली गर्न नसक्नुले देशको सुरक्षा व्यवस्था कुन अवस्थामाबाट गुज्रिएको छ भन्ने स्पष्ट भएको बताए ।

राजनीतिक दलहरुकै संरक्षणमा लोकमानलाई जोगाइएको सांसद गंगा चौधरीको आरोप छ ।

नेपाली कांग्रेसका सांसद फरमुल्लाह मन्सुरले संविधान संशोधन प्रस्ताव सदनमा छिटो पेश गर्न सरकारसँग माग गरे । संविधान संशोधन नभए देश टुक्रिने चेतावनीसमेत उनले दिए । संविधान संशोधनले मात्र तराई÷मधेशका समस्या समाधान हुने उनको भनाइ थियो ।

एमाले सांसद भरतमोहन अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा भएको भनिएको त्रिपक्षीय वार्ताका विषयमा सदनलाई जानकारी दिनुपर्ने बताए ।

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्