एक सयबाट शुरु भएको कार्यक्रम चार हजार पुग्यो, अब दैनिक वृद्ध भत्ता १ सय ३३ रुपैयाँ


 


काठमाडौं, जेठ १५

आर्थिक वर्ष २०५१/२०५२ सालमा तत्कालीन अर्थमन्त्री स्व‍ भरतमोहन अधिकारीले पहिलो पटक बजेटमा वृद्ध भत्ताको व्यवस्था गरेका थिए । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा घोषणा भएको वृद्ध भत्ता कार्यक्रम लोकप्रिय भएको थियो। सबैले मनमोहन अधिकारीलाई जनताको प्रधानमन्त्रीको संज्ञा दिँदै आएका छन्।

तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्री अधिकारीद्वयले १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिएका थिए। तत्कालीन अर्थमन्त्री अधिकारीले ७५ वर्ष उमेर पुगेका वृद्धका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका थिए । अहिले भने ७० वर्ष पुगेका वृद्धलाई चार हजार रुपैयाँ दिने घोषणा भएको छ।

०५२ सालपछि करिब ८ वर्षसम्म भत्ताको रकम बढेन । फेरि २०६० सालमा अर्थमन्त्री भएका अधिकारीले वृद्धभत्ता बढाएर १७५ पुर्‍याएका थिए। २०६५ मा अर्थमन्त्री भएका डा बाबुराम भट्टराईले वृद्ध भत्ता बढाएर ५०० पुर्‍याएका थिए।

त्यसैगरी २०७१ मा कांग्रेसका अर्थमन्त्री रामशरण महतले वृद्ध भत्ता एक हजार रुपैयाँ पुर्याएका थिए। यही क्रममा तत्कालीन एमालेका प्रधानमन्त्री केपी शर्मा र ओली र अर्थमन्त्री विष्णु पौडेलले २०७२ सालमा एक हजार रुपैयाँ वृद्धभत्ता बढाएर दुई हजार पुर्याएका थिए।

विष्णु पौडेलले दुई हजार पुर्याएको वृद्ध भत्ता केपी शर्मा ओली प्रधानमन्त्रीकालकै अर्थमन्त्री डा युवराज खतिवडाले तीन हजार पुर्याएका थिए। पुनः केपी ओली नेतृत्वकै सरकारका अर्थमन्त्री भएका पौडैलले आज चार हजार रकम पुर्याएका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्