गर्मीमा के गर्ने के नगर्ने ?


 


केही दिनयता तराईसँगै काठमाडौ उपत्यका  लगायत देशभर अत्यधिक गर्मीको महसुस हुन थालेको छ, जसबाट आम सर्वसाधारणमा गम्भीर स्वास्थ्य समस्या पैदा गर्न सक्छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीका वेला गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । अत्यधिक गर्मीका कारण आम सर्वसाधारणमा उच्च ज्वरो आउन सक्ने, चक्कर लाग्ने, बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखा पर्न सक्छ । अत्यधिक गर्मीकै कारण शरीर धेरै कमजोर हुने र थकान महसुस हुने, बान्ता आउने, टाउको दुख्ने तथा झाडापखलाजस्ता लक्षणहरू देखिन सक्छ ।

के गर्ने ?

  • २४ घन्टामा चार–पाँच लिटर पानी वा अन्य झोल पदार्थ जस्तै, जीवनजल, तरकारी, दालको झोल पिउनुपर्छ । २४ घन्टामा हरेक स्वास्थ्य व्यक्तिले कम्तीमा एक लिटर पिसाब फेर्नुपर्छ ।
  • अत्यधिक गर्मीको समयमा खेतबारीमा काम गर्नु वा कडा व्यायाम गर्नुहुँदैन । खेतबारीमा काम गर्नेले पनि बिहान–बेलुकाको समयमा काम गर्ने र दिउँसो शीतल ठाउँमा बस्नुपर्छ ।
  • ‘लु’ अर्थात् तातो हावा चलिरहेको अवस्थामा बाहिर निस्कनुहुँदैन, घरभित्र बस्नुपर्छ ।
  • अत्यधिक गर्मी समयमा जरुरी कामले बाहिर निस्कनुपर्दा छाता ओढ्ने र कालो चस्मा लगाउने गर्नुपर्छ ।
  • साना बालबालिकाहरू, अशक्त, वृद्ध व्यक्तिहरू, पुरानो रोग भई औषधि सेवन गरिरहेका व्यक्तिहरू, ज्वरो आएका बिरामीहरू, धेरै मोटा व्यक्तिहरू गर्मीका कारणले स्वास्थ्य जोखिममा पर्न सक्ने हुँदा उनीहरूको स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।
  • गर्मी समयमा पूरै शरीर ढाकिने गरी खुकुलो र हल्का रङका लुगा लगाउने गर्नुपर्छ ।
  • अत्यधिक गर्मी भएको कारणले केही गम्भीर स्वास्थ्य समस्या देखिएमा तत्काल अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा लगी सल्लाह लिनुपर्छ ।

के नगर्ने ?

  • रक्सी खानुहुँदैन, यसले झन् जल वियोजन वा पानीको कमी गराउँछ ।
  • धेरै गुलिया खानेकुरा खानुहुँदैन, यसबाट पनि शरीरमा झन् गर्मी उत्पन्न हुन सक्छ ।
  • बालबालिका र शिशुलाई तोरीको तेल वा अन्य तेल लगाउनुहुँदैन, यसबाट पसिना कम निस्कन गई झन् गर्मी हुन सक्छ ।
  • धेरै गह्रौँ काम वा कडा व्यायाम गर्नुहुँदैन ।

प्रकाशित मिति: २५ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्