कोशी प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा
विराटनगर । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रदेशका रूपमा घोषणा गरिएको छ। प्रदेशका १४ वटै जिल्ला, १३७ स्थानीय तह र १ हजार १५७ वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि प्रदेशलाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको हो।
विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरेका हुन्। कार्यक्रम कोशी प्रदेश स्वास्थ्य मन्त्रालय, प्रदेश खोप समन्वय समिति सचिवालय र स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको थियो।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले प्रदेशका सबै १३७ स्थानीय तह र १४ जिल्लाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि प्रदेशस्तरमा पनि घोषणा गरिएको बताए। उनका अनुसार गत चैत ३ गतेदेखि असार १६ गतेसम्म सबै जिल्लाले पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेका छन्।
चालु आर्थिक वर्ष २०८२/८३ मा पाँचथर पूर्णखोप सुनिश्चितता घोषणा गर्ने पहिलो जिल्ला बनेको थियो भने असार १६ गते खोटाङले अन्तिम जिल्ला रूपमा घोषणा गरेको थियो।
नेपाल सरकारले हाल क्षयरोग, रोटा, पोलियो, निमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस बी, धनुष्टङ्कार, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडलगायत १४ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा ० देखि १५ महिनासम्मका ७९ हजार ८२७ र १६ देखि ५९ महिनासम्मका २ लाख ८ हजार २०१ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी र पहुँचयोग्य बनाउन प्राथमिकता दिएका कारण वडा तहबाटै पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफलता प्राप्त भएको बताए। महिला स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले उनीहरूको सेवा–सुविधा वृद्धि गर्न प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए।
स्वास्थ्य सेवाको गुणस्तर सुधार, अस्पतालहरूको स्तरोन्नति र सेवाग्राहीले सहज रूपमा उपचार पाउने वातावरण निर्माणका लागि प्रदेश सरकारले काम गरिरहेको उनले बताए। सीमित स्रोत–साधनका बाबजुद उपलब्ध क्षमताको अधिकतम उपयोग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा प्रदेश सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनकै परिणामस्वरूप प्रदेशका सबै जिल्ला, स्थानीय तह र वडाले पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताए।
प्रदेश खोप समन्वय समितिका सचिव तथा प्रादेशिक खोप फोकल पर्सन सागर प्रसाईँले सरकारले १४ प्रकारका सरुवा रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइरहेकाले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुने बताए।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










