सातै प्रदेशमा सुविधा सम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उहाँले प्रमुख सरकारी अस्पतालका बर्न वार्ड सुदृढीकरणका लागि आवश्यक योजना कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिनुभयो

उहाँले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो

प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो

एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट अभ्यास अन्य संस्थाले पनि सिकाइ र साझेदारीका माध्यमबाट अपनाउनुपर्ने उल्लेख गर्दै उहाँले प्रतिष्ठानका नाममा रहेका अतिक्रमित जग्गासम्बन्धी समस्या सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधान गरिने बताउनुभयो

छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन तथा पूर्वाधार विकाससम्बन्धी सुझाव प्रस्तुत गरेका छन्

उहाँहरूले स्वास्थ्य सेवाको डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे प्रधानमन्त्रीलाई जानकारी दिएका छन्

छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान का उपकुलपति डा. विवेक आचार्य सहभागी रहेका छन्

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्