डेंगु संक्रमितको संख्या बढ्यो


 


denguकाठमाण्डौ, कार्तिक ११
देशका विभिन्न जिल्लामा डेंगुबाट प्रभावित हुनेको संख्या हालसम्म ४ सय ९९ पुगेको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै चितवनको रत्ननगरमा ३ सय ६७ जना छन् ।

झापामा सय जना डेंगु संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

त्यसबाहेक कैलाली, कञ्चनपुर, रुपन्देही, पर्सा, सप्तरी, कास्की, काभ्रे, धादिङ, स्याङ्जा, काठमाडौं, ललितपुरलगायतका डेंगु प्रभावित १३ जिल्लाहरुमा संक्रमित हुनेको संख्या एक-एक रहेको छ ।

डेंगु प्रभावित ती जिल्लाहरुमा डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न महाशाखाले ‘सर्च एण्ड डिस्ट्रोई’ अभियान नै चलाएको छ । विगत तीन दिनदेखि जारी सो अभियानलाई आजदेखि झापाको दमकमा पनि विस्तार गरिएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाले गएको आइतबार मातहतका निकायलाई डेंगु नियन्त्रणका लागि विशेष अभियान चलाउन निर्देशन दिएपछि महाशाखाले विशेषज्ञ टोली प्रभावित जिल्लामा पठाएको हो ।

टोलीले आज विहानैदेखि झापाको दमकमा पनि डेंगु सार्ने लामखुट्टेका लार्भा नष्ट पार्ने अभियान सुरु गरिसकेको छ । त्यसैगरी, चितवनको रत्ननगर पुगेको टोलीले पनि लार्भा नष्ट पार्ने काम गर्दै आएको छ ।

डेंगु प्रभावित जिल्लाहरुमध्य चितवन तथा झापामा लार्भा नष्ट पारेसँगै ती क्षेत्रमा भएको डेंगु संक्रमणको घटना अबको १०/१२ दिनभित्रै नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्