नेपाल र बंगलादेश आज भिड्दै



काठमाडौं, भदौ २७
नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा बंगलादेशी महिला राष्ट्रिय फुटबल टोलीबीच आज (आईतवार) दोस्रो मैत्रीपूर्ण खेलको तालिका रहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने सो खेलमा नेपाल पुनः जितकै लागि मैदान प्रवेश गर्नेछ। उता पहिलो खेलमा निकै प्रतिस्पर्धात्मक खेल खेल्दा खेल्दै पनि २-१ गोलको पराजय बेहोरेको बंगलादेश आज नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ।

बिहीवार खेलिएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले उत्कृष्ट पहिलो हाफको प्रदर्शनीमा खेल जित्न सफल भएको थियो। राष्ट्रिय टोलीकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी उर्फ साम्बाको अनुपस्थितिमा डेब्यू गरेकी सबिता रानाले पहिलो हाफको १४औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

खेलको २३औं मिनेटमा अर्की डेब्यू गर्ने खेलाडी प्रिती राईले शानदार लङ रेन्जर गोल गर्दा नेपालको अग्रता दोब्बर बनाएकी थिइन्। यद्यपि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने सोही स्तरको खेल देखाउन सकेको थिएन।

दोस्रो हाफमा केही खेलाडी तथा रणनीतिमा परिवर्तन गरेको बंगल्देशी टोलीले त्यसपछि खेलमा निकै सुधार गरेको देखिन्थ्यो। र खेलको ८२औं मिनेटमा बंगलादेशले तोहोरा खातुनमार्फत गोल पनि गर्न सफल भएको थियो।

खेलको निर्धारित ९० मिनेटसम्म पाहुना टोलीले गोल गर्न निकै प्रयास गरेपनि सो हुन नसक्दा नेपालले जित आफ्नो पक्षमा पार्न सफल भएको थियो। बंगलादेशी टोली आज सोही रणनीतिका साथ मैदान प्रवेश गर्नेछ।

आफ्नो दोस्रो हाफको प्रदर्शन नै उसले आजको खेलमा दोहोर्याउन चाहन्छ। नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सका अनुसार नेपालले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेको थिएन।

एएफसी एसियन महिला कप २०२२ को छनोट चरणका खेल खेल्न उज्बेकिस्तान प्रस्थान गर्न लागेको नेपाली टोलीले आज आफ्नो क्षमता अनुसार प्रदर्शनी गर्नुपर्ने हुन्छ। आजको खेलमा जितको नतिजाले नेपाललाई आत्मविश्वास तथा मनोबल मिल्नेछ। एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले दुई बलिया टोली फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News