मेस्सीले सातौंपल्ट बेलोन डी’ओर जिते


 


एजेन्सी, मंसिर १४
पेरिस सेन्ट जर्मेइन (पीएसजी) तथा अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले वर्षको उत्कृष्ट फुटबलरका रुपमा कीर्तिमानी सातौंपल्ट बेलोन डी’ओर अवार्ड जितेका छन् ।

सन् २०२१ मा मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले यो वर्ष ४० गोल गरेका छन् । त्यसमा बार्सिलोनाका लागि २८, पीएसजीका लागि ४ र अर्जेन्टिनाका लागि ८ गोल छ ।

बयर्न म्युनिसका पोलिस स्ट्राइकर रोवर्ट लेवाण्डोस्की, चेल्सीका इटलियन मिडफिल्डर जर्जिन्हो तथा रियल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमालाई पछि पार्दै मेस्सीले उपाधि पाएका हुन् ।

बेलोन डी’ओरका लागि विश्वभरका १ सय ८० फुटबल पत्रकारले मतदान गरेका थिए । कोरोना महामारीका कारण सन् २०२० मा बेलोन डी’ओर अवार्ड वितरण गरिएको थिएन ।

सन् २००८ देखि २०१९ सम्म मेस्सी र क्रिष्टियानो रोनाल्डोले ५–५ पल्ट यो आवार्ड पाएका थिए । सन् २०१८ मा भने क्रोएसियाका लुका मोड्रिडले पाएका थिए ।

मेस्सी यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा वर्षको उत्कृष्ट खेलाडीका रुपमा बेलोन डी’ओरबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्