पाल्पामा जेठ १२ गतेदेखि ‘पाल्पा गोल्डकप’


 


पाल्पा, जेठ २ । पाल्पामा यही जेठ २२ गतेदेखि जिल्ला फुटबल संघले तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजीरसिंह थापाको सम्झनामा ‘पाल्पा गोल्डकप २०८०’ गर्ने भएको छ ।

सदरमुकाम तानसेनस्थित टुँडिखेल मैदानमा ‘पाल्पा गोल्ड कप’ फुटबल प्रतियोगिता गर्ने संघका जिल्ला अध्यक्ष प्रणय वीरजंग राणाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराए । जेठ १२ देखि सुरु हुने प्रतियोगिता २७ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा पाल्पाबाहेक रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्जा, कास्की, चितवन र काठमाडौंका गरी १६ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, पाल्पाली करुवा ट्रफी र मेडल पाउनेछन् । यस्तै, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले जानकारी गराए । प्रतियोगितामा प्रत्येक दिनको ुम्यान अफ दी म्याचुलाई नगद ३ हजार दिइने छ । उत्कृष्ट गोल रक्षक, डिफेन्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ ।

संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागि ७ लाख, सह–प्रायोजकका लागि ४ लाख र ब्यानरका लागि १५ हजार सहयोगको अपेक्षा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । यस बाहेक विभिन्न आठ वटा विभिन्न उप–समिति गठन गरेर अघि बढेको जनाएको छ ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघलाई जानकारी गराइसकेको छ । एन्फाबाट आर्थिक सहयोग प्राप्त नभए पनि विभिन्न व्यक्ति, क्लब तथा स्थानीय निकायबाट सहयोग जुट्ने अध्यक्ष राणाले बताए । प्रतियोगितामा १३ वर्षसम्मको बालबालिकालाई निःशुल्क प्रवेश दिइने छ । प्रतियोगितामा १५ खेल हुनेछ ।

जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष दिपक घिमिरेले खेलाडीलाई हौसला प्रदान गर्ने खालका राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरेर लामो समयपछि फुटबलको इतिहासलाई पुनः सम्झाउन खोजिएको बताए ।

पाल्पामा झन्डै ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुनलागेको हो । २०४७ सालसम्म ‘मणिमुकुन्द कप’ र ‘करुवा कप’ ले चर्चित पाल्पामा त्यसपछि भने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्