चीनको बीआरआई परियोजनाको साख खस्किँदै


 


एजेन्सी, जेठ २
इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन ।

जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआरआईको सुस्तताप्रति असन्तुष्टि जनाउँदै आर्थिक संकटको चेतावनी दिएका छन् । युक्रेनमा जारी आक्रमणसँगै पश्चिमा मुलुकले रुसमाथि लगाएको प्रतिबन्धको असर पनि बीआरआईमा देखिएको विश्लेषकहरु बताउँछन् ।

पछिल्ला केही वर्षयता बीआरआई मातहतका सम्झौतामा पनि कमी आएको छ । चिनियाँ कम्पनीले बीआरआई सम्झौता भएका मुलुकमा साझेदार पाउन पनि कठिन हुँदै आएको बताइन्छ ।

चीनको साङ्घाईमा रहेको फुदान विश्वविद्यालयको ग्रिन डेभलपमेन्ट एण्ड फाइनान्स सेन्टरका अनुसार नेपाल अङ्गोला, रुस, श्रीलंकाजस्ता १४ वटा मुलुकमा सन् २०२१ को तुलनामा सन् २०२२ मा बीआरआईअन्तर्गतका लगानी र निर्माण परियोजनामा शत प्रतिशत गिरावट आएको छ ।

त्यसैगरी, बीआरआई मातहत मै निर्माण भइरहेको चीन पाकिस्तान आर्थिक करिडोरमा ३४ प्रतिशत, सब सहारन अफ्रिकामा बीआरआईका लगानीमा ६५ प्रतिशत तथा निर्माणमा ४४ प्रतिशत गिरावट आएको जनाइएको छ । त्यस्तै, पश्चिम एसियामा पनि चिनियाँ लगानीमा उल्लेखनीय गिरावट देखिएको छ ।

पछिल्लो समय साझेदार मुलुकहरुले पनि बीआरआईलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । बीआरआई परियोजना अन्तर्गत सञ्चालित इक्वेडोरको कोका कोडो सिनक्लेयर जलविद्युत परियोजना र अङ्गोलाको आवास कार्यक्रमको भविष्यबारे पनि प्रश्न उठेको छ । भ्रष्टाचार, भारी ऋण, वित्तीय समस्या, पारदर्शीताको अभावजस्ता कारणले पनि बीआरआईको औचित्यमा प्रश्न उठ्ने गरेको छ ।

सन् २०२१ मा एडडेटाले प्रकाशित गरेको तथ्यांकअनुसार बीआरआईसँग सम्बन्धित ३५ प्रतिशत परियोजनाहरु भ्रष्टाचार, श्रमिकमाथि हुने दुव्र्यवहार, पर्यावरणीय क्षतिजस्ता समस्याले ग्रस्त छन् ।

हालै मलेशियाले ११ अर्ब ६० करोड डलर बराबरको चिनियाँ पूर्वाधार परियोजना रद्द गरिदिएको थियो । त्यसैगरी, कजाखस्तानले १ अर्ब ५० करोड डरल तथा बोलिभियाले १ अर्ब डलर बराबरका चिनियाँ परियोजना रद्द गरेका थिए । यसबाहेक कोस्टा रिका, सुडान, इथियोपिया, इक्वेडोर, जाम्बिया, क्यामरुनजस्ता मुलुकले पनि ३ अर्ब ३० करोड डलर बराबरका चिनियाँ परियोजना रद्द एवम् स्थगित गरेका छन् ।

कोरोना भाइरसको महामारीसँगै विकसशील मुलुकमा देखिएको आर्थिक कठिनाईले पनि बीआरआईबारे नकारात्मक धारणा उत्पन्न हुने गरेको छ । बेलायतको ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युटले विश्वभर २ अर्ब ४० करोड डलर बराबरका १५ वटा बीआरआईअन्तर्गतका परियोजनामा आर्थिक समस्या देखा परेको उल्लेख गरेको छ ।

बीआरआईको घट्दो लोकप्रियताबारे चिनियाँ नेतृत्वले पनि चासो देखाउन थालेको विश्लेषकहरु बताउँछन् । चिनियाँ राष्ट्रपति सी जिन्पिङले बारम्बार बीआरआईलाई ‘शताब्दीकै परियोजना’ बताउने गरेका थिए तर सन् २०२२ मा राष्ट्रपति सीले कुनै पनि सम्बोधनमा बीआरआईको नामसमेत उच्चारण गरेनन् । यसबाट पनि बीआरआई अझ जटिल बन्दै गएको र यसका लागि बलियो जोखिम नियन्त्रण एवम् साझेदारी आवश्यक रहेको देखिन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्