कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश र राजपुरालाई


 


काठमाडौं, जेठ ६ । काठमाडौंमा शनिबार आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले जितेका छन् ।

‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित आयोजित कान्तिपुर हाफ म्याराथन मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा पूरा गरे । थापाथलीबाट सुरु भएको यो दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै थापाथलीमै आएर पूरा भएको थियो ।

प्रतियोगितामा आर्मीकै राजन रोकाया १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

पुरुषतर्फ आर्मीका खड्कबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेर चौथो र गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्डमा पूरा गरेर पाँचौ भए । गत वर्ष यो उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका थिए ।

महिलातर्फकी विजेता राजपुराले गत वर्ष पनि यो उपाधि जितेकी थिइन् । उनले १ घन्टा १९ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन्, गत वर्ष भने उनले १ घन्टा १९ मिनेट ६ सेकेन्डमा पूरा गरेकी थिइन् ।

पुलिसकै राममाया बुढाले १ घन्टा २३ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै दोस्रो, एपीएफकी पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३१ सेकेन्डमा पूरा गरेर तेस्रो, पूर्णराज्य लक्ष्मी न्यौपानेले १ घन्टा २६ मिनेट २३ सेकेन्डमा पूरा गरेर चौथो र गीता बिकले १ घन्टा २९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर पाँचौ भए ।

हाफ म्याराथनमा पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पुरस्कार पाए । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन् ।

यसैगरि ह्विलचेयर दौडको उपाधि रमेश खत्रीले जिते । ३ किलोमिटर दुरी उनले ७ मिनेट २६।७४ सेकेन्डमा पार गरे । थापाथलीबाट सुरु भएको ह्विलचेयर दौड माइतीघर मण्डला फन्को लगाएर पुनः थापाथली आएर टुंगिएको थियो ।

महिलातर्फ ऐश्वर्या कुमालले १० मिनेट ९.७८ सेकेन्डमा दौड पूरा गरेर उपाधि जितिन् । पूर्वविजेता यामकुमारी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए ।

ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

कर्पोरट अन्तर्गत ५ किलोमिटरको कर्पोरेट रनमा पुरुषतर्फ विकेश घिमिरे र महिलातर्फ सुनिता महर्जन विजयी भए । विकेशले १४ मिनेट ३६।३ सेकेन्डमा दौड पूरा गरे भने सुनिताले २३ मिनेट २३।९० सेकेन्डमा पूरा गरिन् ।

पुरुषतर्फ १४ मिनेट ४६।७ सेकेन्डमा दौड पूरा गरेर विकास पोखरेल दोस्रो र १५ मिनेट ००।६ सेकेन्डमा पूरा गरेर अनिश लामा तेस्रो भए ।

महिलातर्फ विनिता महर्जनले २३ मिनेट ३०।२९ सेकेन्डमा पूरा गरेर दोस्रो र एलिना श्रेष्ठले २६ मिनेट ०७।४९ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।

७ किलोमिटरको कलेज रनको उपाधि पुरुषतर्फ पुकारजंग बस्नेत र महिलातर्फ सुशन कार्कीले जिते । पुकारले २४ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरे भने सुशनले २७ मिनेट २९।५६ सेकेन्डमा पूरा गरिन् । पुरुषतर्फ २४ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेर रिम बुढामगर दोस्रो र २५ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेर समिप थुलुङ राई तेस्रो भए ।

महिलातर्फ निशम हाङ सुब्बाले ३१ मिनेट ०७।५० सेकेन्डमा दौड पूरा गरेर दोस्रो र मिनिशा पन्तले ३२ मिनेट १८।४२ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

सिटी म्याराथनको अवधारणामा भइरहेको कान्तिपुर हाफ म्याराथनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्