नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तविरुद्धको थुनछेक बहस आजदेखि


 


काठमाडौं, जेठ २१
नक्कली भुटानी शरणार्थी मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ । पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने टुंगो लाग्नेछ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शुक्रबार भएको थियो । थुनछेक बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलको पक्षबाट बहसको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले गर्ने छन् ।

सरकारी वकिलले बहस सकेपछि प्रतिवादीकातर्फबाट अधिवक्ताले बहस गर्नेछन् । ३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेका अधिकांशले आफूमाथि लागेको आरोपमा इन्कारी बयान दिएका छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्