आक्रमणमा १३ प्रहरीको मृत्यु


 


फराह (अफगानिस्तान), मंसिर ३

अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी लडाकूहरुले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

‘घटनास्थलबाट अज्ञात संख्यामा लडाकूहरु भागेका थिए भने, घटनामा परी मृत्यु हुने १३ जना नै प्रहरी रहेका छन्,” उपक्षेत्रीय प्रहरी प्रमुख मोहम्मद घोस मल्यारले भन्नुभयो ।

क्षेत्रीय सुरक्षा कार्यालयले आक्रमणको घटनाका बारेमा अनुसन्धान गर्न थालिसकेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।घटनास्थलपछि तीन चार जना प्रहरीहरु हराएको र उनीहरु तालिवानीको सम्पर्कमा रहेको हुन सक्ने बताइएको छ ।

प्रहरी प्रमुख मल्यारले घटनाका बारेमा अनुसन्धानपछि मात्रै विस्तृत विवरण बताउन सकिने जानकारी दिनुभयो । फराह र छिमेकी हेल्माण्ड प्रान्तमा विगत दुई महिनादेखि सुरक्षा चुनौती बढ्दै गईरहेको छ ।
तालिवानीको प्रवक्ता जुविल्लाह मुजाहिदले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्