भारतका मूख्यमन्त्रीहरुनै मोदी सरकारविरुद्ध एकजुट


 


narendra-modi-sad-look-650x371काठमाडौं, मंसिर ४

कालोधन थुपार्नेलाई ठीक पार्ने भन्दै मोदी सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएपछि भारतको राजनीति र जनजीवनमा हंगामा मच्चिएको छ ।

कालो धन धुपार्नेलाई लक्षित गरी प्रतिबन्ध लगाएपनि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधारण परेपछि भारतमै ब्यापक विरोध सुरु भएको छ ।

पैसा साट्न लाइनमा लागेकाहरु एकपछि अर्को गर्दै बेहोश भएर मर्न थालेपछि प्रदेशका मूख्यमन्त्रीहरु मोदी सरकारविरुद्ध एकजुट हुन थालेका छन् ।

यसक्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र दिल्लीका मूख्य मन्त्री अरबिन्द केजरीवालले संयुक्त रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नोटमाथिको प्रतिबन्धले सर्वसाधारणबाट आलोचना ब्यहोरिरहेको मोदी सरकारले ममता र केजरीवालजस्ता दुई शक्तिशाली मूख्यमन्त्रीको प्रहार सहनुपर्ने देखिएको हो ।

तीन दिनभित्र नोटबन्दीको निर्णय फिर्ता लिन दुबै मूख्यमन्त्रीले अल्टिमेटम दिएका छन् ।

आफू र केजरीवालले एक साथ लडाईको घोषणा गरेको भन्दै जातैले लडाकू आफूहरु कस्तै खालको राजनीतिज्ञसँग पनि नडराउने चेतावनी बनर्जीले दिइन् ।

केजरीवालले मोदी सरकारले विजय माल्यालाई देशबाट भाग्ने अवसर दिएको आरोप लगाउँदै नोटबन्दीमा ८ लाख करोड रुपैयाँको घोटाला भएको आरोप लगाए ।

जम्मु काश्मिरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्लाले पनि नोटबन्दी गर्ने मोदी सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनीहरुले राष्ट्रपति प्रणव मुखर्जीसम्मको ध्यानाकर्षण गराए पनि भारतीय अर्थमन्त्री अरुण जेटलीले नोटबन्दीको निर्णय फिर्ता नहुने प्रष्ट गरेका छन् ।

पाँच सय र एक हजारको नोटमाथिको प्रतिबन्धले नेपाल र भुटान जस्ता भारतीय मुद्राको कारोवार हुने देशका नागरिक पनि प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्