विश्वकप खेलेकाे जापानसँग अाज नेपाल भिड्दै


 


काठमाडौँ, मंसिर ४

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार यहाँ ‘च्यारिटी’ फुटबल खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्नेछन् । तीमध्ये टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेलेका हुन् ।

नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टोली दबाबका बीच मैदानमा उत्रिए पनि जितकै लागि खेल्ने बताएका छन् । उनि भन्छन्, “हाम्रो टोलीका केही खेलाडी घाइते भए पनि हामी जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छौंँ । हामीले विदेशमा भर्खरै उपाधि जितेका छौं, देशमा खेल्दा पनि त्यही दोहो¥याउने छौं ।”

टोलीको प्रशिक्षकको जिम्मेवारी समेत लिएका खेलाडी काजुयुकीले आफूहरु जित्नका लागि नेपाल आएको बताउँदै भने, “मैले भर्खरै सम्पन्न सोलिडारिटी कप अन्तर्गत नेपालले ब्रुनाई र लाओससँग खेलेको खेल हेरेंँ । त्यसैले उनीहरु (नेपाल)सँग आमनेसामने हुँन हामीले राम्रो तयारी गरेका छौंँ ।”

उनले वर्तमान नेपाली प्रशिक्षक रहेका जापानी कोजी आफ्नो युवाकालको प्रशिक्षक रहेकाले उनकाे टोलीसँग खेल्न उत्साहित रहेको जनाए ।

नेपाली टोलीका कप्तान अनिल गुरुङले थकानका बीच पनि आफ्नो टोली जापानी टोलीसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा अपराह्न २ बजे खेल सुरु हुनेछ ।

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्