सामानसँग शरीर बेच्न बाध्य हैटी र लाइबेरियाका महिला


 


एजेन्सी जेठ २८

 संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएका सैनिकहरुले महिलालाई सामान दिएर शारीरिक सम्बन्ध राख्ने गरेको नयाँ तथ्य खुलेको छ। समाचार संस्था रोयटर्सले राष्ट्रसंघको एउटा प्रतिवेदनलाई उद्धृत गर्दै जुन देशमा सहयोग गर्न भनेर सैनिक जान्छन् त्यहीँका महिलासँग उनीहरुले शारीरिक सम्बन्ध राख्ने गरेको भेटिएको बताएको छ। त्यसको बदला सैनिकले आफूसँग भएको गहना, मोबाइल र नगद महिलालाई दिन्छन्।

 भोकमरी र गरिबीका कारण हैटी र लाइबेरियाका महिलाहरु सामानसँग शरीर बेच्न बाध्य भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सन् २००८ देखि २०१३ सम्म ४८० ओटा यौन शोषण भएका मुद्धाहरु परेका थिए। तीमध्ये एक तिहाइ बालिकामाथि शोषण भएका थिए।  सन् २०१४ मा शान्ति सैनिकले शारीरिक सम्बन्धपछि सामान वा पैसा नतिरेको भन्दै ५१ ओटा उजुरी परेका थिए।

 संयुक्त राष्ट्रसंघले शान्ति स्थापनार्थ संसारका विभिन्न मुलुकमा १ लाख २५ हजार शान्ति सैनिक खटाएको छ।

setopati

प्रकाशित मिति: २८ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्