अमेरिकी आक्रमणमा इरानमा ३८ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते



तेहरान। इरानका विभिन्न प्रान्तमा गरिएको अमेरिकी आक्रमणमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणले पुल, ऊर्जा पूर्वाधार तथा समुद्री नियन्त्रण टावरलगायत नागरिक संरचनामा समेत क्षति पुर्‍याएको छ।

इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार होर्मोजगन, बुसेहर, सिस्तान तथा बलूचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तका विभिन्न क्षेत्रमा आक्रमण गरिएको थियो। आक्रमणका क्रममा चाबहारस्थित शाहिद कलन्तरी बन्दरगाहको समुद्री नियन्त्रण टावर ध्वस्त भएको जनाइएको छ। यद्यपि बन्दरगाहको कार्गो सेवा तथा अन्य प्रमुख पूर्वाधारमा भने ठूलो क्षति नभएको बताइएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार जारी विज्ञप्तिमा चाबहार बन्दरगाहको निगरानी टावर सफलतापूर्वक नष्ट गरिएको पुष्टि गरेको छ। सेन्टकमका अनुसार उक्त संरचना इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले ओमानको खाडी र होर्मुज जलमार्ग हुँदै हुने व्यापारिक गतिविधिको निगरानीका लागि प्रयोग गर्दै आएको थियो।

इरानी समाचार संस्था इरनाले प्राविधिक तथा सञ्चालन टोलीले प्रभावित क्षेत्रमा क्षतिको मूल्याङ्कन, सुरक्षा व्यवस्थापन तथा बन्दरगाह सेवा पुनः सञ्चालनको तयारी थालेको जनाएको छ। सुरक्षा परीक्षण पूरा भएपछि कार्गो सेवा पुनः सुचारु गरिने अपेक्षा गरिएको छ।

यसैबीच, होर्मोजगन प्रान्तको खमीर काउन्टीमा छ वटा पुलसहित विभिन्न संरचनामा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। होर्मोजगन गभर्नरको कार्यालयका अनुसार सो क्षेत्रमा सात जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

आक्रमणका कारण बन्दर अब्बास, बन्दर खमीर र लारलाई जोड्ने प्रमुख यातायात मार्ग प्रभावित भएको छ। वैकल्पिक मार्गमार्फत आवागमन सुचारु गराउन आपतकालीन टोली परिचालन गरिएको अधिकारीहरूले बताएका छन्। बन्दर अब्बासको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको तथा आठ जना घाइते भएको जनाइएको छ।

प्रेस टिभीका अनुसार सहरको एक रेलवे शाखा स्टेसनमा समेत क्षति पुगेको छ, जहाँ दुई जना घाइते भएका छन्। बुसेहर प्रान्तका गभर्नर मोहम्मद मोजाफारीले केही घण्टाको अन्तरालमा दुईवटा आक्रमण भएको र एक जना घाइते भएको जानकारी दिनुभएको छ।

खुजेस्तान प्रान्तका उपगभर्नर वालियोल्लाह हयातीले अमेरिकी सेनाले अहवाज आसपासका क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको बताउनुभएको छ। स्थानीय अधिकारीहरूका अनुसार क्षतिको पूर्ण मूल्याङ्कन भइरहेको छ। यसअघि इरानी अधिकारीहरूले अहवाज नजिकको आक्रमणका कारण क्यान्सर उपचारमा विशेषज्ञता प्राप्त शाहिद बाघाई अस्पताल अस्थायी रूपमा खाली गराउनुपरेको बताएका थिए।

पश्चिमी इरानको लोरेस्तान प्रान्तमा पनि आक्रमण भएको पुष्टि भएको छ। उपगभर्नर सईद पौरालीले चेगेनी काउन्टीको वेसियान क्षेत्रमा आक्रमण गरिएको जानकारी दिनुभएको छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्