क्लिन्टनले खोजिन् श्रमजीवी वर्गको समर्थन


 


डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न अग्रस्थानमा रहेकी हिलारी क्लिन्टनले उनको पहिलो बृहत् र्यालीमा अमेरिकीहरुलाई हरेक दिन आवश्यक पर्ने विषयमा सहयोग गर्ने बताएकी छन्।

आफ्नो पहिलो महत्वपूर्ण र्यालीलाई संबोधन गर्दै उनले सहयोगको वाचा गरेकी हुन्।

न्युयोर्क शहरको रुजवेल्ट आइल्याण्डमा हजारौं समर्थकहरुलाई संबोधन गर्ने क्रममा अमेरिकी पूर्व विदेशमन्त्री क्लिन्टनले आफ्ना महत्वपूर्ण नीतिका खाका सार्वजनिक गरिन्।

श्रमजीवी वर्गलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, “तपाईंहरु सफल नएभसम्म अमेरिका सफल हुन सक्दैन।”

समर्थक

क्लिन्टनको अभियान समूहले गत अप्रिलदेखि शुरु भएको उम्मेद्वारी अभियानका समर्थकहरु बढ्ने आशा राखेको छ।

पूर्व राष्ट्रपति समेत रहेका उनका पति बिल क्लिन्टन र छोरी चेल्सी र्यालीमा उपस्थित थिए।

क्लिन्टनले अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भए धनीहरुलाई मात्र नभई हरेक दिन अमेरिकीहरुलाई सघाउने खालको अर्थतन्त्र बनाउने वाचा गरिन्।

६७ वर्षीय क्लिन्टनले भनिन्, “प्रमुख कार्यकारी र कोष व्यवस्थापकहरुका लागि मात्रै समृद्धि हुन सक्दैन, अर्बपति र ठूला व्यावसायिक संस्थाहरुका लागि मात्रै लोकतन्त्र हुन सक्दैन।”

उनले थपिन्, “यो अमेरिकाको आधारभुत कुरा हो, यदि तपाईं आफ्नो भागको काम गर्नुभयो भने तपाईं अगाडि बढ्न सक्षम हुनुहुन्छ, जब सबैले आ- आफ्नो भागको काम गर्छन्, तब अमेरिका अघि बढ्छ।”

इतिहास

अहिलेसम्म पूर्व विदेशमन्त्री क्लिन्टनले आयोवा जस्ता शुरुमा मतदान हुने राज्यमा निश्चित श्रोताहरु माझ साना साना कार्यक्रम गर्दै आएकी थिइन्।

शनिबारको र्यालीले उनको अभियानको स्वरुप फेरिएको छ।

क्लिन्टनले पहिलो अमेरिकी महिला राष्ट्रपति बनेर इतिहास रच्ने आशा राखेकी छन्।

यदि सफल भएमा उनले ह्वाइट हाउसमा डेमोक्रेटहरुको लगातार तेश्रो कार्यकालको इतिहास समेत रच्नेछिन्।

उनले आफ्ना नीतिहरुको विस्तृत प्रस्ताव शनिबार ल्याइनन्।

क्लिन्टनको चुनावी अभियानका सञ्चार निर्देशक जेनिफर पालमेरीले भनिन्- “क्लिन्टनले आउँदा महिनाहरुमा हरेक हप्ता जसो एउटा एउटा नीति घोषणा गर्ने योजना छ।”

उनका सहयोगीहरुका अनुसार अर्थतन्त्र, रोजगारी र धान्न सकिने कलेज शुल्क लगायतका विषयमा आउँदा केही हप्तामा विस्तृत नीति आउनेछ।

bbc

प्रकाशित मिति: ३१ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्