दक्षिण कोरियामा मर्सबाट १६ को मृत्यु, सङ्क्रमितको सङ्ख्या १५० पुग्यो


 


सोल, जेठ ३२

कोरियामा तीन हप्तामात्र अघिबाट सुरु भएको भनिएको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामको एक भाइरसको सङ्क्रमणबाट कयौँको ज्यान गएको छ। यसको नियन्त्रणमा लागिरहेको सरकारले जनाएको छ। तर पनि प्रतिदिन यसको सङ्क्रमण बढ्दो मात्रामा देखिएको कोरियाली अधिकारवादीहरुले जनाएका छन्।

सोमबारसम्ममा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। करिब तीन हप्ताअघिमात्र चारजनामा यसको सङ्क्रमण देखिएको थियो। तर आजसम्म आइपुग्दा यसबाट सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि १५० पुगेको छ। कोरियाली अधिकारीहरुले सोमबार दिएको पछिल्लो विवरणअनुसार यसका सङ्क्रमित १५० पुगेका छन्।

दक्षिण कोरियामा केही हप्तामात्र यता देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजिवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ। कोरियाली स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यसको सङ्क्रमणबाट सोमबार मात्र दुई जनाको ज्यान गएको छ। त्यसैगरी सोमबार मात्र यसका थप पाँचजना बिरामी भेटिएका छन्।

यो सङ्क्रमणले दक्षिण कोरियामा एक किसीमले आतङ्क नै सिर्जना गरेको बताइएको छ। यस सङ्क्रमणको त्रास फैलिएपछि त्यहाँको जनजिवनमा निकै ठूलो प्रभाव परेको बताइएको छ। दक्षिण कोरियामा यसको प्रभावका कारण तीनहप्तायतादेखि नै सयौँ विद्यालय बन्द भएका छन्। त्यस्तै अन्य औद्योगित तथा सेवा क्षेत्रमा पनि त्रास फैलिएपछि केही मात्रामा बन्द गरिएको छ।

यसबाट बच्नका लागि सयौँजना स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ। विभिन्न एयरलाइन्सलाई पनि सतर्कता अपनाउन कडा निर्देशन जारी गरिएको समाचारमा जनाइएको छ।

यस सङ्क्रमणलाई थप फैलिन नदिनका लागि सरकारले कैयौँ सतर्कता अपनाएको बताएको छ। तर पनि दिनहुँ नयाँ बिरामी भने भेटिएकोले सरकरी पहल प्रभावकारी हुन नसकेको आरोप पनि छ।

सन् २०१२ मा यो सङ्क्रमण साउदी अरेबियामा देखिएको थियो। यसका कारण संसारमा अहिलेसम्ममा कम्तीमा पनि एक हजार जना सङ्क्रमित भएका र त्यसमा परी अरु करिब ४०० जनाको ज्यान गएको छ। रासस/एएफपी

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्