स्थानीय तह पुनःसंरचना आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाउने


 


काठमाडौँ, मंसिर २८

स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । जिल्लाबाट आएका प्रतिवेदनलाई आयोगले प्रत्येक स्थानीय तहको अलगअलग नक्साङ्कन गर्दै प्रतिवेदनलाई अन्तिम रूप प्रदान गर्दैछ । कुनै प्राविधिक समस्या नआए आयोगले यही मङ्सिर मसान्तका दिन सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सोमबारसम्म आयोगले ५७ जिल्लाको अन्तिम प्रतिवेदन तयार गरिसकेको जनाएको छ । २ नं। प्रदेशका आठ जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका व्यवस्थापिका संसद्का सदस्य, दलका नेतासँग आयोगले छलफल गरिसकेको र दुई दिनभित्र २ नं। प्रदेशका आठ जिल्लाको पनि प्रतिवेदन तयार हुने आयोगका प्रवक्ता डा। हरि पौडेलले जानकारी दिए ।

उनका अनुसार आयोगले अहिले जिल्लाबाट प्राप्त प्रतिवेदनलाई नमिलेका वडा मिलाउने, दुई तीनवटा केन्द्र प्रस्ताव गरेर आएका प्रतिवेदनलाई साझा केन्द्र बनाउने, जनसङ्ख्या र भूगोलको मापदण्ड नमिलेका स्थानीय तहलाई मापदण्ड अनुसार व्यवस्थित गर्ने काम गरिरहेको छ ।
२ नं। प्रदेशका आठ जिल्ला र बाँकी जिल्लाको प्रतिवेदन दुईदेखि तीन दिनभित्र तयार हुनेछ । उनले भने , “साँझदेखि बिहानसम्म आयोगका पदाधिकारी र कर्मचारी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा छन्, सकेसम्म छिटो सरकारलाई प्रतिवेदन दिने गरी आयोगले अहिले काम गरिरहेको छ । ”
आयोगका अनुसार तराईका आठ जिल्लाबाट अधिकतम स्थानीय तहको सङ्ख्यालाई आधार मान्ने हो भने स्थानीय तहको सङ्ख्या ७३१ हुनेछ । आयोगले देशभर गरी न्यूनतम ५०७ र अधिकतम ७४४ स्थानीय तह बन्नसक्ने प्रारम्भिक खाका सार्वजनिक गरेको थियो । उक्त सङ्ख्याको सीमामा रहेर सिफारिस गर्न आयोगले स्थानीय तह पुनःसंरचना मापदण्ड जिल्ला प्राविधिक सहयोग समितिलाई दिएको थियो । आजको गोरखापत्र दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्